नेकपा ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन र सभा गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ फागुन ।

नेकपा ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले जवाफी सभा र शक्ति प्रदर्शन गर्दै आइरहेकाे छ । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा दाहाल-नेपाल पक्षले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ । प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउँ-गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निस्कनेछन् । ‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन् ।’

विराटनगरको जनसभा एतिहासिक हुने उनको दाबी छ । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ । केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो । प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।

शनिबार विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर जाने कार्यतालिका छ । विराटनगरमा गएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्नेछन् । मुख्यमन्त्री शेरधन राईसहित नेताहरुसँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]