भारी मात्रामा घट्यो सुनको भाउ, तोलाको कती ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,६ फागुन ।

आज बिहिबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ । हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहिबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ । हिजो १३ सय ४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ ।

कर्जा लगानी बढ्दै, फेरी ‘क्रेडिट क्रञ्च’ ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तिव्र रुपमा कर्जा लगानी वृद्धि गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण लामो समय लगानी गर्न नपाएका बैंकले अहिले आक्रमक रुपमा कर्जा लगानी गरिरहेका छन् । यतिबेला बैंकहरुको निक्षेप र कर्जाको अवस्था हेर्ने हो भने निक्षेपको तुलनामा कर्जा विस्तार तिव्र रुपले भइरहेको छ ।

बैंकहरुको आक्रमक लगानीको अवस्था हेर्दा अबको केही महिनामै लगानी योग्य रकम तरलता संकट बढ्न सक्ने देखिन्छ ।

बैंकहरुको आक्रमक ऋण लगानीका कारण बैंकिङ प्रणालीमा तरलता बिस्तारै कम हुँदै गएको छ । अहिले बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढी छ । यसैलाई आधार मान्ने हो भने तलरता संकट फेरी निम्तीन सक्छ । बैंकहरुको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्र २७ वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेको देखिएको छ ।

निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ । यस अवधीसम्म बाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् भने ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११।४ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको देखिन्छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको यो तथ्यांक समग्र बैंक तथा वित्तीय संस्थाको हो । माघ अन्तिम साता वाणिज्य बैंकहरुले २९ अर्ब रुपैयाँले ऋण लगानी बढाएका छन्। निक्षेप भने २ अर्ब रुपैँयाले मात्रै बढेको छ।

कोरोनाका कारण लगानी गर्न नपाएका बैंकहरुले कार्तिक पछि एकाएक तीव्र लगानी वृद्धि गरेसँगै बैंकिङ प्रणालीमा तरलता घट्दै गएको हो । लकडाउनताका प्रणालीमा २ सय खर्ब तरलता थियो । अहिले त्यो तरलता घटेर ६० अर्बमा झरेको छ । अब बजारमा तलरलतको समेत देखिन थालेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।‘ आयात बढ्ने,कर्जा विस्तार भइरहेकाले तरलतामा दबाब पर्न सक्छ ।’ प्रवक्ता भट्टले भने । अझै सरकारले आन्तरिक ऋण उठाउन अझै बाँकी नै छ । त्यसले पनि थप दबाब हुन सक्छ ।

‘अब बैंकहरुले कन्सेप्ट बनाउनुपर्छ,पहिले जस्तो तरलता सहज हुँदैन अब ।’ उनले भने । सरकारले आन्तरिक ऋण उठाउँदा थप दबाब पर्ने उनको आँकलन छ । अन्तरबैंक सापटीको माग ठूलो नभए पनि ब्याजमा भने सामान्य वृद्धि देखिन थालिसकेको छ । एक बैंकले अर्को बैंकलाई दिने सापटीको दर लगभग एक प्रतिशतको हाराहारीमा आइसकेको छ । अहिले बजारमा जुन तरलता छ,त्यो राष्ट्र बैंकले पुर्नकर्जाका कारण देखिएको प्रवक्ता भट्टको भनाई छ । ‘राष्ट्र बैंकले पुर्नकर्जा नदिएको भए पहिले नै तरलतामा दबाब पर्ने थियो ।’ उनले भने ।

राष्ट्र बैंकले अहिले भएको पुनर्कर्जा कोषबाट पाँच गुणासम्म ऋण दिन सकिने जनाएकोे छ । यसको ब्याज पाँच प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशित लगानीका कारण पनि बैंकहरु ऋण बिस्तारमा आक्रामक भएका हुन् । त्यस्तै, कर्पोरेट गतिविधि पनि बढेकाले ऋण विस्तारमा बैंकहरु आँक्रमक हुन थालेका हुन् ।

यसले पनि ऋणको माग आउन थालेको छ । कोरोनाले थलिएको अर्थतन्त्रले लय लिन थालेपछि ऋणको माग बढेको बैंकर्सको भनाई छ । प्रणालीमा तरलता कम हुँदै गएपछि कर्जाको ब्याजदर पनि बढ्ने पक्का छ ।