काठमाडौँ ,५ फागुन ।
गएको माघ ३० गतेबाट साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको महिला लघुवित्तमा आज आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले माघ ३० गतेदेखि जारी पुँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६÷०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।
लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङका अनुसार मंगलबार साँझसम्म आईपीओमा १४ लाख ४४ हजार ५८८ आवेदकबाट २ करोड २४ लाख ८२ हजार ७२० कित्ता सेयर माग गर्दै २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ७५ हजार कित्ताको ५९.९५ गुणा बढी हो ।
कम्पनीको आईपीओमा माघ ३० देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिने भए पनि माघ ३० गतेको सार्वजनिक बिदाले गर्दा आवेदन दिने समय एक दिन थप भएको हो ।