काठमाडौँ , २ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधव नेपालले वास्तविक एमाले आफ्नो समूहमा रहेको बताएका छन्। आइतबार तेह्रथुममा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजपछि प्रधानमन्त्री केपी ओलीले पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्को प्रतिवाद गरे।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजन भएको छ। पार्टी विभाजन भएपछि नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले छुट्टा छुट्टै कार्यक्रम गरिरहेका छन्। ओली समूहले पूर्वएमालेलाई विभिन्न वाहनामा आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको आरोप छ।
सोही विषयमाथि नेपालले आपत्ति जनाएका हुन्। नेपालले कम्युनिस्ट आन्दोलनको क्रममा एमाले निर्माणमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नेपालले भने, ‘माले बनाउने को भनेर सोध्नुस् त उनलाई (ओलीलाई), एमाले बनाउने को भनेर सोध्नुस् त उनलाई, कोअर्डिनेशन केन्द्र बनाउने को भनेर सोध्नुस् त उनलाई।’
उनले अगाडि भनेका छन्, ‘उनी (ओली) यो कुरा सम्झन चाहँदैनन्। के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी। अनि एमाले, एमाले मिलौँ भनिरहेका छन्। एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन। उनी बीमाले मात्र हुन्, एमाले होइनन्। एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले।’
नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड-माधव पक्षकी नेता झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो। ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उनले बताए।
‘यो सबैको मुटु छामेको हो। रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ,’ उनले प्रश्न गरे, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?