नेकपा ओली समूह : “आज बुटवलमा शक्ति प्रदर्शन गर्दै, २ लाख जनता उतार्ने “

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , १ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिनसभा आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

कंकालहरु चिहानबाट निस्केर परिवर्तन रोक्न खोज्नेविरुद्ध धावा बोल्नेछन् : प्रचण्ड

नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलगायतले लाखौं जनताको बलिदानीपछि प्राप्त संविधान कुल्चन सक्छु भनेर सोचेकोको भए त्यो भ्रमबाहेक अरु केही नहुने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई त्यस्तो भ्रमबाट चाँडै निस्कदा नै राम्रो हुने सुझाव पनि दिए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी समेत दिए ।

शनिबार जनयुद्ध दिवसका अवसरमा पेरिसडाँडा कोटेश्वरमा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौँ सहिदहरुको बलिदानीबाट प्राप्त उपलव्धि मानिएको संविधानको घात गरेको र सहिदहरुको सपना कुल्चने प्रयास भएको भन्दै इतिहासका महान ती सहिदहरु कहिल्यै मर्न नसक्ने पनि बताए ।

‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठुलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्नेछन् ।’
उनले ओलीलाई दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै यस्तो दुस्प्रयास भएको पनि दावी गरे ।

उनले आन्दोलन र त्यही आन्दोलनको जगमा प्राप्त उपलव्धि जोगाऔं भन्ने नयाँ प्रतिवद्धता आवश्यक रहेको पनि बताए ।
‘उपलव्धिलाई गुम्न दिनेछैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ’, प्रचण्डको भनाइ छ ।

उपलव्धिहरुलाई जोगाउन फेरि सवै नेपाली एकजुट भएर संघर्षमा उत्रने संकल्प गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।