रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किंदा २ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

धादिङ, १ फागुन ।

पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार रातोघरनेर रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।

घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

जनयुद्ध दिवसको दिन प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिने

तत्कालिन माओवादी जनयुद्धका सारथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अहिले फरक–फरक पार्टी र राजनीतिक अवस्थामा छन् । पछिल्लो केहि वर्षदेखि दुवै नेता फरक–फरक राजनीतिक पार्टीमा आबद्ध भएसँगै एउटै मञ्चमा पनि देखिएका छैनन् ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको दिन (फागुन १) गते दुवै नेता फेरि एउटै मञ्चमा देखिने भएका छन् । नेता भट्टराईले लेखेको किताब ‘गुमनाम आमाहरुको कथा’ नामक किताब विमोचनको अवसरमा दुवै नेता एक ठाउँमा देखिने भएका हुन् ।

विमोचन कार्यक्रममा प्रचण्डलाई प्रमुख वक्ताको रुपमा बोलाइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तो पनि सहभागी हुने जनाइएको छ ।

पछिल्लो समय नजिक छन् प्रचण्ड र बाबुराम

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड र बाबुराम नजिक छन् । दुवै नेता आबद्ध पार्टी अहिले संसद विघटनविरुद्व सडक आन्दोलनमा छ ।

यसबीच प्रचण्ड र बाबुरामबीच पार्टी एकतासम्मको छलफल चलेको छ । केहि साताअघि प्रचण्ड र बाबुराम उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा गोप्य छलफलमा थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।