जनयुद्ध दिवसको दिन प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिने

हाम्रो सन्देश संवाददाता

फाल्गुन, १ काठमाडौं ।

तत्कालिन माओवादी जनयुद्धका सारथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अहिले फरक–फरक पार्टी र राजनीतिक अवस्थामा छन् । पछिल्लो केहि वर्षदेखि दुवै नेता फरक–फरक राजनीतिक पार्टीमा आबद्ध भएसँगै एउटै मञ्चमा पनि देखिएका छैनन् ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको दिन (फागुन १) गते दुवै नेता फेरि एउटै मञ्चमा देखिने भएका छन् । नेता भट्टराईले लेखेको किताब ‘गुमनाम आमाहरुको कथा’ नामक किताब विमोचनको अवसरमा दुवै नेता एक ठाउँमा देखिने भएका हुन् ।

विमोचन कार्यक्रममा प्रचण्डलाई प्रमुख वक्ताको रुपमा बोलाइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता अशोक राई, डा. मीना पौडेल र डा. अरुण गुप्तो पनि सहभागी हुने जनाइएको छ ।

पछिल्लो समय नजिक छन् प्रचण्ड र बाबुराम

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड र बाबुराम नजिक छन् । दुवै नेता आबद्ध पार्टी अहिले संसद विघटनविरुद्व सडक आन्दोलनमा छ ।

यसबीच प्रचण्ड र बाबुरामबीच पार्टी एकतासम्मको छलफल चलेको छ । केहि साताअघि प्रचण्ड र बाबुराम उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा गोप्य छलफलमा थिए ।