काठमाडौं, २८ माघ ।
ग्रीनलाइफ हाइड्रोपावर (GLHL) ले बिक्रीमा ल्याएको आइपीओमा ७.३७ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा मंगलबार ५ बजेसम्ममा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे।
यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको ३२ लाख ५१ हजार ६५२ कित्ताको ७.३७ गुणा धेरै हो। माग भन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।
त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । हालसम्म आवेदन दिएका मध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ ।
सबै तथ्यांकहरू भेरिफिकेशन नसकिएको कारण आवेदन गर्नको संख्या अझै बढ्ने देखिन्छ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ।त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।