शितल दाहाल
केही दिनअघि मेरो भाइले उसकी प्रेमिकाको फोटो आफू सुत्ने कोठामा निर्धक्क सजाएर राखेको देखेँ । मुटु आकारको सुन्दर फोटो फ्रेमभित्र नदी किनारामा उभिएर हातमा हात मिलाएको, ओठमा मुस्कान सजिएको युगल जोडीको तस्वीर लोभलाग्दो थियो । केटीले आफूले मन परेको केटाको तस्वीरको त कुरै छाडौँ, उतिखेर मेरो उमेरसमूहका केटाहरूसमेतले आफ्नो किशोरावस्थामा आफूलाई मन परेको मानिसको फोटो यसरी भित्तामा सजाउने हिम्मत कहिल्यै गरेको मैले थाहा पाएकी छैन ।
आफ्नो किशोरावस्थालाई अहिले सम्झन्छु । म हुर्किएको काँठमा पुग्ने हो भने अझ फरक खालको अभ्यास थियो । कतिसम्मको विभेदपूर्ण प्रचलन थियो भने छिमेकी दाइको विवाहमा जन्ती बनेर जान मेरा उमेरसमूहका किशोरीहरूले रहर गर्यौँ । तर, हामी छोरी मान्छे भएकै कारण जन्त जान अनुमति पाएनौँ । छिमेकी दाइको बिहेमा जन्त जान नपाउने कुरा हेर्दा सामान्य देखिन्छ । तर, त्यही आँखीझ्यालबाट यो समाजको द्वेषी मानसिकता देखिन्छ ।
जन्तसँग जोडिएको काँठे समाजशास्त्रको प्रभावले हामी काँठका छोरीहरूलाई कतिसम्म खेदेको छ र आजपर्यन्त त्यो खेदाइको शृङ्खला टुटेको छैन भन्ने बुझाउने प्रयास मात्र हो यो ।
काँठैमा जन्मे, हुर्कें र आजसम्मको दैनिकी काँठको घर र शहरको जागिरमै चलेकाले काँठको रीतिथितिबारे भलिभाँती जानकारी राख्दछु । काँठका छोरीहरू, बुहारीहरू र आमाहरूको जीवन मजत्तिको काँठेले भन्दा बढी अरु कसले देखेको होला र भन्न म पछि पर्दिनँ । अन्यत्रझैँ काँठका मानिसका केही मौलिक आदत छन् र कतिपय दोषपूर्ण छन् ।
आफ्नै खालको परम्परा हुनु आफैँमा दोष होइन । तर, दोषपूर्ण परम्परा छ भने परिमार्जन वा खारेज गर्न पनि अबेर गर्नुहुन्न भन्ने मत हो मेरो ।
काँठ र यसको सेरोफेरोमा रहेका केही विभेदपूर्ण संस्कारको कुरा सुनाउन मन लाग्यो । हाम्रातिरका दाहालहरूको एक वर्ष बिराएर कुलदेवताको पूजा गरिन्छ । अलिक वर्षअघिसम्म पनि घरमा छोरा जन्मिए, नयाँ घर बनाए वा छोराले जागिर खाए भने कुलदेवताका लागि छुट्टै बोकाको बलि दिने चलन थियो । मेरो दाइले सरकारी जागिर खाएको वर्ष बोकाको बलि दिएको अस्तिजस्तो लाग्छ । यसअघि दुई दाइहरू जन्मँदा पनि कुलदेवतालाई बोकोको बलि दिएको कुरा आमाले सुनाउनुभएको छ ।
छोरा जन्मँदा मात्र खुसी हुने र बोकाको बलिको आस गर्ने हाम्रा तथाकथित् कुलदेउताले म अर्थात् मजस्ता छोरीहरू जन्मँदा भने बोकाको बलिको आशा गर्दैनन् । कुलदेवतालाई छोरी जन्मँदा बोकाको बलि दिनु नपरेकै कारण हामी दाहालका छोरीहरूले आजसम्म कुलदेवताको दर्शन गर्न पाएका छैनौँ । दाहालहरूको कुलदेवताको दर्शन कुनै पनि स्त्रीले गर्न नहुने नियम छ । यही नियमका कारण मेरी आमाले विवाह गरेर भित्रिएको ५०औँ वर्षपछि पनि कुलदेवताको दर्शन गर्न पाउनुभएको छैन ।
पशुपतिनाथ मन्दिरमा हिन्दुबाहेक अरुलाई प्रवेश निषेध गरेजस्तै हाम्रो कुलदेवताको मन्दिरमा पनि स्त्रीजातिलाई अहिलेसम्म पनि निषेध छ । गजबका छन् हाम्रा देउता, आइमाईले पाएका छोरो जाति तिनलाई चल्छ तर उनै आइमाई भने मन पर्दैन ।
लिंगभेदकै कारण हामीतिरका दाहालका छोरीहरूले आजसम्म आफ्नो कुलदेवताको मन्दिरमा गएर शिर निहुराउन नपाएको कुरा कनै सार्वजनिक मिडियामार्फत दुखेसो पोख्नुपर्दा मलाई गर्वको अनुभूति पटक्कै भएको छैन । बरु आफूलगायत सबै दाहालका छोरी, बुहारी, आमा र भाउजूहरू विभेदको सिकार भएकोमा र यस विभेदविरुद्ध समाजका अन्यले महसुससम्म नगरेकोमा मलाई अफसोच छ । भन्नेहरूले भन्लान्– कुलदेवताको विषयमा यसरी सार्वजनिक स्थानमा बहस गर्नु देउताकै अपमान हो । सर्वनाश होला !
तर, विभेदको मुहान नै हामीले मानेको देउदेउता, कुलदेवता र देवी हुन् भने प्रश्न किन उठ्दैन ? कुलदेवताको डर देखाएर, संस्कार र परम्परा तोड्न खोजेको आरोप लगाउने प्रयास गरेर, रीतिथितिको अपमान गरेकोमा त्यसको मूल्य चुकाउनुपर्ने धम्की दिएर हामीलाई चुप लगाउने प्रयास पनि होला । तर, त्यसमा पनि कुनै आपत्ति छैन किनभने, यो युग प्रश्न र प्रतिकारको हो । स्मरणीय छ, दक्षिण भारतको केरलास्थिति सवारीमल्ला मन्दिरमा त्यहाँको अदालतले सन् १९९१ मा १० वर्षभन्दा बढीका किशोरी/युवती/महिलालाई छिर्न निषेध गरेको थियो तर महिला आन्दोलनको दबाबले अन्ततः सन् २०१८ मा भारतको उच्च अदालतले त्यो पावन्दी हटायो ।
जेजे भने पनि यो आत्मसम्मानको लडाइँ हो । जताबाट सकिन्छ, हामी पनि समानताका खातिर लड्ने हो । देवता र कुल देवताको कुरा जोडेर पाठकलाई अलमल्याउन खोजिएको नठानियोस् । देवता र कुलदेवताको नाममा नै हामीमाथि विभेद लादिन्छ भने हामी मन्दिरका ढोका र झ्याल उप्काएरै भए पनि विद्रोह गर्छौं । यो युगले त्यसो गर्नुपर्छ । किनकि, यस्ता धर्म र संस्कारका झुटपूर्ण प्रबन्धहरूले महिलालाई गर्भैदेखि अपमानित गरेका छन् ।
घिस्रिँदैघिस्रिँदै भए पनि समाज बदलिएको छ । बदलिएको व्यवस्थामा कम्तीमा यो पुस्ताले आफूलाई मन परेको मानिसको फोटो भित्तामा सजाउन हिम्मत गरेको प्रसंग मैले प्रारम्भमा जोड्न चाहेको हुँ । बदलिएको समाजको कुरा गरेको हुँ । मन परेको मानिसलाई हृदयमा मात्र होइन, घरको भित्तामा नै सजाउन पाउनुपर्छ । तर, यो हक मेरो भाइलाई मात्र होइन, म र मेरो बहिनीलाई पनि हुनुपर्छ । तर, मेरो मनमा प्रश्न खेल्छ, ‘भाइले विवाहपूर्व नै आफ्नी प्रेमिकाको फोटो घरको भित्तामा सजाउने हिम्मत गर्दा त्यो हिम्मत अविवाहित म र मेरी बहिनीले पनि गर्न सकाैँला या नसकौँला ?
देवता र कुलदेउता छुने हक हामीलाई प्रदान नगरिएजस्तै जीवनमा हाम्रो प्रेमीको फोटो भित्तामा सजाउने साहस यो समाजले अझै हामीलाई दिएको छैन । मेरो सानो भाइले आफूले मन पराएको केटीको तस्वीर भित्तामा निस्फिक्री टाँस्यो । तर, मलाई लाग्दैन मेरो समाजको कुनै पनि स्त्रीले अझै पनि बिहेपूर्व नै आफ्नो प्रेमीलाई सहजै सार्वजनिक गर्न सकोस्, भित्तोमा तस्वीर टाँस्न सकोस् । त्यसो गर्न नसक्नुमा समाजले पुरुषलाई जन्मजात नै दिएको ‘हिम्मत’ जिम्मेवार छ ।
हेर्दा र सुन्दा कति सामान्य लाग्छ भित्तामा तस्वीर सजाउने कुरा । तर, यति सामान्य सन्दर्भमा पनि हाम्रो समाजको गम्भीर समाजशास्त्र लुेकेको छ । परम्परा र छोरी मानिसलाई कसरी दोस्राे दर्जाको मानिस बनाइन्छ भन्ने कुराको चुरो लुकेको छ ।
भित्तामा जोकसैको फोटो हिम्मतका साथ कसले सजाउन सक्छ ? उत्तर सामान्य छ- जसको भित्तो हुन्छ उसैले । भित्तो हुन घर चाहियो । अब मलाई जवाफ दिनुहोस्, यो नेपाल राज्यमा कति जना महिलाको आफ्नै घर होला, भन्नुहोला- श्रीमान्को घर पनि महिलाकै घर हो, बाको घर पनि छोरीकै घर हो । त्यसैले सबै महिलाको आफ्नै घर छ ।
यो उत्तर धोकापूर्ण छ । सत्य अर्कै छ, यस देशमा सीमित महिलाको नाममा जायजेथा छ । र, सीमित महिलाको मात्रै आफ्नो घर छ ।
जुन राज्यमा महिलाले आफ्नो बाउको पैतृक सम्पत्ति पाउन कानुनी लडाइँ लड्नुपर्छ । त्यही सम्पत्ति पाउन छोरा हो भने जन्मेकै दिनबाट पैतृक सम्पत्तिको ‘स्वाभाविक हकदार’ हुन्छ । जुन राज्यमा महिलाले जन्माएको बच्चा उसैको हुँदैन, पुरुषको थर/पहिचान दिन नसके जन्मेको बच्चाले यो देशको नागरिकसमेत हुन पाँउदैन । र, जुन राज्यमा अझैसम्म थरकै आधारमा छुवाछुतको कहालीलाग्दो विभेद जारी छ भने त्यस्तो सामाजिक संरचनामा बसेर के हामीले मन परेको मानिसको फोटो घरको भित्तामा सजाउन सकौँला ? त्यो पनि दोस्रो दर्जाको आइमाईले ?
हो, मन परेको मानिसलाई भित्तामा सजाउनका लागि महिलाको आफ्नै घर हुनपर्छ । घर भनेको सुत्ने कोठा र भात खाने भान्छा मात्रै होइन, ठूलो हिम्मत र सौर्य हो । घर निस्फिक्री सम्पत्ति पनि हो । त्यसो भए आजसम्म यस राज्यका महिलाको आफ्नै घर किन थिएन ? उनीहरूको घर थिएन किनभने, युगौँदेखि धर्म, संस्कार र परम्पराका नाममा छोरीलाई विवाह गरेर अर्काको घर पठाउने जातका रूपमा परिभाषित मात्र गरिएन, बरु अभ्यस्त नै बनाइयो । त्यसो हुँदा छोरीहरूका लागि आफ्नो निजी घर आवश्यक नै परेन । अझ भनौँ, जन्मघर र पराईघर जाने तानाबाना बुन्दैमा छोरीलाई आफ्नो निजीघरबारे सोच्ने मौका मिलेन ।
कि त स्त्री जन्मघरमा बाउको संरक्षणमा रहने भई, कि त लोग्नेको घरमा । संरक्षण रहने अवला भई । परनिर्भर भई । हो, समाजले छोरीहरूलाई निर्वल, अबला, र परनिर्भर बनाएर राख्यो । जहिले पनि बाउ, लोग्ने, दाइ, भाइ र छोराहरूको संरक्षणमा रहने भई । जसलाई जन्मेदेखि नमरेसम्म कसै न कसैको आड भरोसामा बाँच्न लगाइन्छ, त्यो वर्गको आफ्नै घर, सम्पत्ति, कमाइ र जायजेथा कसरी हुन्छ ? कहाँबाट निर्माण हुन्छ ? र, त्यस्ता भौतिक र आत्मिक रूपमा पनि पराधीनहरूको निजी भन्ने नै के हुन्छ ? रहरहरू नै के हुन्छन् र ? अनि ती दर्जाका मान्छेका रहरहरूले कहाँ भित्तामा सजिन पाउँछन् ?
तर, अबका छोरीहरू पहिलेभन्दा जब्बर छन् । उनीहरू त्यसै चुप लागेर बस्ने पनि छैनन् । छोराहरूले झैँ मैले पनि किन अंश पाइनँ भनेर बाउआमासँग प्रश्न गर्नेछन् । प्रश्न सोधेरै ती पार नलाग्लान्, बरु परिवारसँग द्रोह गरेरै भए पनि आधा सम्पत्तिको अधिकार पक्कै माग्नेछन् । लेखकलाई यो आरोप लाग्न सक्छ कि पैतृक सम्पत्तिको हक माग्न लगाएर समाजमा अराजकता मच्चाउन र विचलन ल्याउने प्रयास गरियो । तर, युग पछि फर्कन्न । यो विज्ञान र तर्कको युगमा छोरीहरूले समाजसँग द्रोह गरेरै भए पनि छोरासरह अंश र वंशको हक खोज्नेछन् । लालपुर्जाको एउटा कुनामा आफ्नो आमाको नाम नभए पनि आफ्नो नाम खोज्नेछन् । छोरीहरूले अवश्य त्यसै गर्दै छन् ।
त्यसो गरेनन् भने तिनले कहाँ सजाउन पाउलान् आफ्नो प्रिय मान्छेको तस्वीर आफ्नो भित्तामा ? प्रिय बहिनीहरू, आफूलाई मन परेको मानिसको फोटो भित्तामा सजाउने मन छ भने आफूले पाउने मौलिक हक अधिकारहरूप्रति सजग होऊ । अधिकार मागेर नपाए खोसेर लिने हिम्मत गर । लड्ने हिम्मत छैन भने उही लाचार म्यासेज आफ्नो प्रेमीलाई पठाऊ, ‘प्रिय, म तिम्रो तस्वीर कहाँ सजाऊँ ?’