अनलाइनबाट चिठ्ठा परेको भन्दे ठग्ने युवक पक्राउ

हाम्रो सन्देश संवाददाता

झापा, २६ माघ ।

अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो।

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

https://www.youtube.com/watch?v=WmCfjQWvORA