प्रचण्डलाई बादलको जवाफः मांसहारी आन्दोलन गर्नेलाई ‘चिडियाखाना’मा बन्द गरेर राख्छाैं

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ माघ ।

बेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डमाथि कटाक्ष गर्दै चिडियाखानामा लगेर बन्द गरेर राख्ने जनाएका छन् ।

काठमाडाैंमा ओली समूहले गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले नेतृत्वमाथि षडयन्त्रपूर्वक ढंगले अपदस्त गर्न खोज्ने र राष्ट्रपतिलाई समेत षडयन्त्रपूर्वक अपदस्त गर्न खोजेका कारण पार्टीमा बिग्रह सिर्जना भएको जनाएका हुन् ।

यस्तै, उनले प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्डले सरकारले असंवैधानिक रुपले संसद विघटन गरेको भन्दै मांसहारी आन्दोलनको आवश्यकता रहेको औल्याएका थिए । त्यसको जवाफमा आज बादलले जुमा लगेर बन्द गरेर राख्ने जनाएका हुन् ।

‘मांसाहारी आन्दोलन गरेर मांसाहारी तरिकाद्वारा नेतृत्वलाई अपदस्त गरिनेछ भन्दै घोषणा गरेर हिडेका छन् । म यो ऐतिहासिक जनसभाबाट के भन्न चाहन्छु भने, ती मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधानले हाम्रो कानुनले अपराध घोषित गरेको छ । ती मांसाहारी आन्दोलन गर्नेलाई, अपराध गर्नेलाई जावलाखेलको ‘जु’मा लगेर बन्द गरिनेछ ।’ सभालाई सम्बोधन गर्दै बादले भने ।

ओली समूहले आज नारायणहिटी अगाडी बृहद सभाको आयोजना गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।