काठमाडौं, २२ माघ ।
सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।
मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
‘एमसिसी चाहिँदैन’ भनेर कार्यकर्ताले नारा लगाएपछि प्रचण्डले रोके
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीविरूद्ध नारा लगाउन रोकेका छन्। प्रचण्ड-नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।
कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए। कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।
संविधान मिचेर प्रतिगमन ल्याएकाले त्यसको विरूद्धमा मात्रै नाराबाजी लगाउन प्रचण्डले भनेका थिए।
एका बिहानै प्रचण्ड-माधव समूह द्वारा ट्याक्सीमा आगजनी
नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो ।
प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । यस्तै गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम हड्तालको आह्वान गरेको हो ।
माघ २३ गते प्रधानमन्त्रीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्ने !
विभाजित नेकपाको ओली समूहले यही माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ । सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन् ।
यस आरोपलाई बल पुग्ने गरी शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा मदन भण्डारीको भाषणको अडिओ क्लिप फेसबुकमा पोष्ट गरेका छन् ।
आमसभाको दुई दिन अघि बुधबार मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ क्लिपसहित सभाको प्रचारात्मक पोस्टर फेसबुकमा सेयर गरेका हुन् ।
मन्त्री श्रेष्ठले फेसबुकमा पोष्ट गरेको उक्त २५ सेकेन्डको अडियो क्लिपमा मदन भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’
सो अडिओ क्लिप पोष्ट गरिएसँगै प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्न लागेको आशंकालाई थप सशंकित बनाएको छ । यही माघ २३ गते शुक्रबार नारायणहिटी राजदरबार अगाडि गर्न लागेको आमसभाको प्रचार प्रसारका लागि नेता मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ प्रयोग गरिनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।