काठमाडाैं, २२ माघ ।
भोलि शुक्बार हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको केपी ओली समूहले काठमाडौंमा आयोजना गर्ने सभामा सहभागीलाई ‘स्कर्टिङ’ गरेर भएपनि ल्याउन निर्देशन दिएको छ ।
नेकपा ओली समूहले भोलिको कार्यक्रमका लागि करिव तीनलाख नेता तथा कार्यकर्ता भित्रयाउन निर्देशन दिएका छन । प्रत्येक िजल्लाबाट चार हजार मान्छे ल्याउन निदेर्शन दिइसकेकाे जनाइएकाे छ । स्रोतका अनुसार, उनीहरुका खाने ब्यवस्थाका लागि करिव चारलाख कुपन छापेको र क्याटरिग लाई सो अनुरुप खाना दिनेगरी ब्यवस्था मिलाइएको जनाएको छ । बिहीबार नेकपाको प्रचण्ड नेपाल पक्षले देशभर आम हडताल घोषणा गरेपछि शुक्रवार सभामा सहभागी हुन आउनेलाई जसरी पनि काठमाडौं भित्राउन गृहमन्त्री रामबहादुर थापाले ‘स्कर्टिङ’ गरेरै भए पनि ल्याउने व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयमा समसामयिक राजनीतिक अवस्था र सुरक्षा व्यवस्थालगायतका विषयमा सुरक्षा अंगका प्रमुखसँग गृहमन्त्री थापाले छलफल गरेका थिए । सो क्रममा उनले सुरक्षा अंगलाई यस्तो निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने शुक्रवारको कार्यक्रमलाई लिएर त्यस्तो छुट्टै प्लानिङ नभएको र सुरक्षा निकायले नै आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए ।
‘सुरक्षा गतिविधिका विषयमा हुने नियमित छलफल भएको हो, शुक्रवार हुने कार्यक्रमलाई लिएर छुट्टै प्लानिङ बनाउने भन्ने कुरा होइन, सुरक्षाको व्यवस्थापन के कसरी गर्ने भन्ने काम सुरक्षा निकायबाटै हुन्छ ।’ गृह प्रवक्ता बुढाले सञ्चारकमीसँग भने ।
तर गृहकै एक अधिकारीले भने उपत्यका बाहिरबाट कार्यक्रममा ठुलो संख्यामा सहभागी आउने भएकाले आवश्यक प्रबन्ध गर्न गृह मन्त्रीले भनेको बताए ।
‘उपत्यकाबाट ठुलो संख्यामा कार्यक्रमका लागि सहभागी आउँदै छन्, हडताल घोषणा भएकाले कसरी सहज रूपमा ल्याउन सकिन्छ सोचौं, स्कर्टिङ नै गरेर भए पनि ल्याउनु पर्छ भनेर गृहमन्त्री ज्यूले भन्नु भएको हो,’ ती अधिकारीले भने ।
प्रधानमन्त्री निकट नेकपाले शुक्रवार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी सडकमा सभाको आयोजना गर्दै छ ।प्रधानमन्त्रीले यसअघि नै प्रचण्ड(नेपाल पक्षले गरेको सभामा सहभागीलाई लक्षित गर्दै, ‘प्रदर्शन कस्तो हुन्छ हेर्न २३ गते काठमाडौं आउनु’ भनेका थिए ।