भोलि नेपाल बन्दको नेकपा दाहाल र नेपालको घोषणा,के के खोल्न पाईन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

नेकपा दाहाल-नेपाल समूहले भोलि बिहीबार नेपाल बन्द गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल सहितको बन्द घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले भोलि बन्दको घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।

हड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्द नै हो।

‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथ विरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ’, दाहाल-नेपाल समूहका संघर्ष समितिका एक नेताले भने ।

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।