नेप्से परिसूचक ६५ अंकले बढ्यो, ८ अर्ब ३९ करोडको कारोबार

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

साताको पहिलो दिन आइतबार करेक्सनपछि बढेको सेयर बजार तेस्रो दिन मंगलबार पनि बढ्ने क्रम जारी छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७३ दशमलव ७३ अंकमा पुगेको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

आजको कारोबारमा होटल क्षेत्रबाहेक सबै क्षेत्रको सेयर कारोबार बढेको छ । सबैभन्दा बढी बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।

नेप्से उपसूचकमा निर्जीवन बीमा कम्पनीको सूचक ५.०४ प्रतिशत, जीवन बीमा कम्पनीको सूचक, ३.३५ र माइक्रोफाइनान्स कम्पनीको सूचक ३.८ प्रतिशतले बढेको छ ।

मंगलबार ८ अर्ब ३९ करोड ४३ लाख ३४ हजार २९० रुपैयाँ बराबरको १ करोड ४९ लाख १७ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा १५२ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी १५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

आजको कारोबारमा सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी जनउत्थान लघुवित्त, सफल लघुवित्त, गुँरास लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स र माउन्टेन इनर्जी कम्पनीको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।