प्रधानमन्त्री र राष्ट्रपतिको वास्तविकता जिम्मेवारीसाथ भनेको छुः रामकुमारी झाक्री

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धबारे बोल्न सही समयको पर्खाइमा रहेको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै झाँक्रीले दुनियाँ यही समयको पर्खाइमा रहेकोले आफूले वास्तविकता बोलेको बताएकी छन् । उनले भेनेकी छन्, ‘मैले नै वास्तविकता भनिदिउँ भने, जिम्मेवारीसाथ भनेको छु ।’

झाँक्रीले केही दिन अघि गोरखा पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको संज्ञा दिँदै ‘शितलनिवासबाट निस्केर बालकोट गएर बस्न’ भनेकी थिइन् ।

बालकोट प्रधानमन्त्री ओलीको निजि निवास हो । नेकपाको जिम्मेवार तहका नेताहरुबाटै यस्तो कुरा आएको भन्दै सर्वत्र विरोध भइरहेको बेला यसलाई पुनः पुष्टि गर्न आज फेरि झाँक्रीले यस्तो ट्विट गरेकी हुन् ।

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संबिधानलाई कागजको खोष्टो बनाएको आरोप समेत लगाएकी छन् । ‘हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’ झाँक्रीको प्रश्न छ ।

संसद प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि झाक्रीले सरकारको चर्को आलोचना गर्दै आइरहेकी छन् ।