ओली पक्षको आमसभाका दिन लाइसेन्सको लिखित र ट्रायल नहुने

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने दिन (आगामी माघ २३ गते) सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा नहुने भएको छ ।

सो दिन विभिन्न स्थानमा विरोधका कार्यक्रम हुने हुँदा त्यहाँ जनशक्ति खटाउनुपर्ने भएकाले लाइसेन्सको लिखित र ट्रायल परीक्षा रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै यातायात कार्यालयलाई चिठी पठाएको हो ।

महाशाखाले आउँदो शुक्रबार विभिन्न राजनीतिक दलहरूबाट उपत्यकाका केही स्थानमा विरोध लगायतका कार्यक्रम तथा भिभिआइपी/भिआइपी आवागमन हुने र त्यसको व्यवस्थापनको लागि अधिकतम जनशक्ति चाहिने भएकाले परीक्षा स्थगित गर्न अनुरोध गरेको हो ।
ट्राफिक व्यवस्थापनकै लागि गत ९ गते प्रतिनिधि पठाउन नसकेको र २३ गते पनि नसक्ने महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको बेलामा ट्राफिक प्रहरी अनिवार्य बस्नुपर्ने प्रावधान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ ।

उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।