इटहरी, २० माघ ।
बिक्रीमा रहेको भनेर एउटै जग्गा धेरै व्यक्तिलाई देखाएर बैनाबापत ३ करोड रुपैयाँ उठाएर ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी आसपास रहेको एउटै जग्गा धेरै व्यक्तिलाई देखाएर बैनामार्फत ३ करोड रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले २७ वर्षकी एक महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा घर भइ हाल सुनसरीको इटहरी बस्दै आएकी २७ वर्षीया सुस्मिता श्रेष्ठ थापा छन् । प्रहरीका अनुसार उनले अहिलेसम्म २४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ उठाएर ठगी गरेकी छन् । अनुसन्धानका क्रममा बिक्रीमा रहेको भन्दै एउटै जग्गा विभिन्न व्यक्तिलाई देखाएर लाखौं ठगी गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
इटहरीकै एक महिलाले सुस्मिताबाट आफू पनि ठगिएको भन्दै उजुरी दिएपछि इलाका प्रहरी कार्यालय इटहरीले केही दिन अगाडि सुस्मितालाई पक्राउ गरेको थियो । उनले धेरैजसो व्यक्तिलाई एउटै जग्गा देखाएर बैनामार्फत लाखौं रकम उठाउने गरेकी थिइन् । सुस्मिताले व्यक्ति हेरेर कोहीबाट ५ लाख र कसैबाट १० देखि २५ लाख रुपैयाँसम्म उठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सुस्मिताले पुरूष मात्र नभइ महिलाहरूलाई समेत विभिन्न प्रलोभन देखाएर रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुस्मिताले बढी ब्याज आउने गरी ऋण लगानी गर्ने र विदेश पठाइदिने भन्दै महिलाहरुबाट पैसा उठाउने गरेकी थिइन् । उनले राम्रो तलब पाउने गरी जागिर लगाइदिने भनेर समेत रकम उठाएर ठगी गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरी क्षेत्रमा सुस्मिताको नेतृत्वमा ठगी गर्ने एउटा समूह नै सक्रिय छ । उक्त समूहमा रहेर ठगी कार्यमा संलग्नहरुको खोजी भइरहेको डीएसपी केसी बताउँछन् ।
सुस्मिता एक्लैले मात्रै २४ जनाभन्दा बढी व्यक्तिबाट ३ करोड रुपैयाँ ठगी गरेकी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी सुस्मितामाथि थप अनुसन्धान जारी रहेकाले उनले गरेका ठगीको फेहरिस्त खुल्दै जाने इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।