काठमाडौं, २० माघ ।
ओस्कर अन्तर्राष्ट्रिय कलेजले यो वर्ष कलेज भर्ना हुने २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ। फिल्म विषयमा इच्छुक विद्यार्थीहरूको पढाइ आर्थिक समस्याका कारण नरोकियोस् भन्ने उद्देश्यका साथ कलेजले छात्रवृत्ति दिन लागेको हो।
२४ जनामध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसिप अवार्ड’ दिइनेछ भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसिप अवार्ड’ दिइने कलेजले जनाएको छ।
‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन्। त्यसैगरि ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसिप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।
‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले कलेज र विद्यार्थीबीच सम्बन्ध बिस्तार हुने विश्वास राखेको छ। ओस्कार कलेजमा पढेर सो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियता साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ।
आजभन्दा १६ वर्ष अघि स्थापित ओस्कार अन्तराष्ट्रिय कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो। यसले सिंगापुरको इन्फिनिट स्टुडियोसँग सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।