काठमाडाैं, २० माघ ।
कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको छ । यस्तो अवस्थामा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ भने सबैका लागि रोजगारीको माध्यम बनिरहेको छ ।
पठाओले राइडरका लागि आधारभूत तालिम अनलाइन मार्फत नै सञ्चालन गरी पार्ट टाइम तथा फुल टाइम जबको अवसर प्रदान गरिरहेको पठाओ नेपाल प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार कोरोना कहरअगाडि कार्यालयमै सञ्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सञ्चालन गरिएको हो ।
कोरोनाको समयभन्दा अगाडि दैनिक सय राइडरले आधारभूत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताएका छन् ।
पठाओमा कसरी जोडिने ?
त्यसका लागि तपाईं एकपटक बानेश्वरमा रहेको पठाओको कार्यालयमा पुगी नाम र फोन नम्बर दर्ता गराउनुपर्छ । त्यसपछि मोबाइलमा एसएमएसमा मार्फत अनलाइन तालिमको लिंक प्राप्त हुनेछ ।उक्त सो लिंक खोली तोकिएको समयमा तालिम लिन सकिने छ ।
सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधिको हुनेछ । तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्ने लगायतका विषयमा जानकारी दिइने छ । यसका साथै ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा सिकाइने कम्पनीले जनाएको छ ।
त्यतिमात्रै नभएर तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बारेमा समेत जानकारी दिइने छ ।
कम्पनीका अनुसार हाल दिनमा २ पटक तालिम सञ्चालन हुँदै आएको छ । जसमा बिहान ८ बजे र दिउँसो साँढे २ बजे रहेको छ । हप्तामा सातै दिन हुने तालिम शनिवार बिहान मात्र र आइतबार दिउँसो मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार तालिमपछि राइडरले पठाओ एपमा आवश्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमतिपत्र) अपलोड गर्नुपर्ने हुन्छ । पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिन्छ ।
कागजात अपलोड गरेको ३ दिनभित्र पठाओले भेरिफाइड गरेपछि राइडरले काम सुरु गर्न सक्छन् ।