काठमाडाैं, १९ माघ ।
बहुप्रतिक्षित र बहुचर्चित राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको बताईएको छ । निकै आरोह अवरोहबाट गुज्रदै आएको यस आयोजनामा फेरी समस्या देखिएको छ ।
भूकम्प, नाकाबन्दी जस्ता कारणले मात्रै नभई समयमै काम सम्पन्न नगरी ठेकेदार भाग्ने प्रवृत्ति पनि यसबिचमा देखिएको छ । आयोजनामा मुख्य ठेकेदार पनि फेरिरहेका छन् । सबैभन्दा बढी काम गरेको इटालिन कम्पनी सिएमसी दि रिभेनाले अन्तिम चरणमा आएर मेलम्चीको काम छोडेर गयो । त्यसपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।
सिनो हाइड्रोले गएको जेठ महिना यता काम थालेको हो । सिएमसीले छोडेर बाँकी रहेको सुरुङ र हेडवक्र्स (मुहान) निर्माणको दुई ठेक्काको काम सिनो हाइड्रोले गरिरहेको छ । कम्पनीले सुरुङको १२ महिनाभित्र र हेडवक्र्सको काम १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य तय गरी काम गरिरहेको छ ।
सिएमसीले मेलम्चीको सुरुङको काम करिब १ किमी ढलान र सपोर्टको काम छोडेको थियो भने मुहान (हेडवक्र्स) निर्माणको काम बाँकी नै राखेको थियो । त्यस्तै तीन ओटा भेन्टिलेसन साफ्ट (सुरुङको हावा फाल्ने) निर्माण, टनेल गेट समेत निर्माण गर्न बाँकी थियो ।
आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले आयोजनाको अन्तिम चरणको काममात्रै बाँकी रहेको जानकारी दिए । उनका अनुसार दुई हप्तापछि सुरुङमा पानी हालेर परीक्षण गर्ने योजना आयोजनाले बनाएको छ ।
तर मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्टिसाले भने आफूले काम गरे बापत पाउनु पर्ने भुक्तानी नपाएको भन्दै काम रोक्ने चेतावनी दिएका छन् ।
सिनो हाइड्रोले २० करोड भन्दा बढी रकम भुक्तानी आयोजनाबाट पाउन बाँकी रहेको जनाएको छ । आयोजना स्रोतका अनुसार सिनो हाइड्रोले आयोजनालाई दुई दिन अघि मात्रै ‘भुक्तानी नपाए काम गर्न नसक्ने’ जनाउँदै इमेल लेखेको थियो । आयोजनाले दुई पटक गरी २० करोड बढीको बिल पेश गरेको थियो ।
आयोजनाका सूचना अधिकारी पन्तले ठेकेदार कम्पनीलाई काम गरेको बिल आयोजनालाई बुझाएपछि भुक्तानी दिने गरेको दाबी गरे । ‘ठेकेदार पक्षले काम गरेको बिल आयोजनामा पेश गर्छ । त्यसको आधारमा हामीले रकम भुक्तानी गर्ने हो । अहिलेसम्म हामीले त्यसरी नै भुक्तानी दिने गरेका छौँ’, उनले भने ।
त्यस्तै परामर्शदाता कम्पनी इप्टिसाले पनि आफ्नो भुक्तानी दिनु पर्ने भन्दै आयोजनालाई पत्र काटेको छ । इप्टिसाले भुक्तानी नपाए काम रोक्ने बताउँदै आएको छ । इप्टिसाले आयोजनाको डिजाईन र पर्यवेक्षणको काम सन् २०१८ देखि गर्दै आएको छ ।
इप्टिसाले मेलम्ची सुरुङको सुपरिवेक्षणको ८ करोड, सुन्दरीजल पानी प्रशोधन केन्द्रको सुपरिवेक्षणको ४ करोड र मेलम्चीको अर्काे आयोजना लार्के र यांग्रीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दाको बाँकी भुक्तानी ५ करोड गरी १७ करोड भुक्तानी लिन बाँकी रहेको दाबी छ । यहाँसम्म कि, लार्के र यांग्रीको डिपिआर तयार पारी बुझाएको दुई वर्ष बिते पनि डिपिआर प्रमाणित नगरी रोकिराखेको स्रोतले बतायो ।
‘मेलम्चीले भुक्तानी नदिएर अत्यासै पारी सक्यो । हामीलाई दुई वर्षसम्म सम्पन्न भईसकेको डिपिआर समेत प्रमाणित नगरी रोकिराखेर दुःख दिईरहेको छ’, स्रोतले भन्याे ।
इप्टिसाले ६ दिन अघि २६ जनुअरीमा पत्र पठाउँदै एक हप्ताभित्र बाँकी भुक्तानी गर्न भनेको छ । यदि भएन भने ‘परियोजनाको सम्पूर्ण काम स्थगित गर्न बाध्य हुने’ पत्रमा उल्लेख गरिएको छ । रकम भुक्तानी नपाए कामलाई स्थगित राख्दै जस्तो सुकै कदम चाल्न बाध्य हुने ती स्रोतले बताएका छन् ।