साताको पहिलो दिन सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ माघ ।

आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

काठमाडौंमा बर्ड फ्लू, सम्भावित क्षेत्रमा उच्च निगरानी

काठमाडौंमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाडौंमा बर्ड फ्लूको पुष्टि भएको हो । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ ।

बर्ड फ्लू काठमाडौंमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिए । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाडौंमा बर्ड फ्लू पुष्टि भएको हो । रोग पुष्टि भएको क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि संक्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए ।

बर्ड फ्लू पंक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खानुपर्ने डाक्टरहरुको भनाइ छ । डाक्टरकाअनुसार बर्ड फ्लूको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।