काठमाडौं, १७ माघ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको हाे ।
त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापटलले जनाएको छ ।
आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपिओ रिजल्ट ( IPO RESULT) मा जानुहोस् ।
त्यसपछि आईपीओको नतिजा हेर्नुपर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंक छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।
बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।