श्रीमान् विदेशमा दुःख गर्दै, श्रीमती परपुरुषसँग …

हाम्रो सन्देश संवाददाता

पोखरा ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौकामा परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् ।

पाँच दिनदेखि महिला बेपत्ता भएकी थिइन् । तीन दिनयता तीन वर्षीय छोरीसमेत हराएकी छन् ।

पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ’, उनले भने ‘उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।’

पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ‘ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान छ ।’

तिमिल्सेनाले भने ‘ प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।’ रासस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।