गरिवको पार्टीको नाममा अरबौं सम्पत्ति भारतमा समेत जग्गा

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, १३ माघ ।

सत्तारुढ दल (नेकपा)सँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब भन्दा बढी रहेको देखिएको छ । तत्कालीन एमाले र मा’ओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो।

नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल-अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल-अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्ण बहादुर थापाले बताए।

‘दुवै पार्टीका चल-अचल सम्पत्ति नेकपाको नाममा ल्याउने केन्द्रीय समितिको निर्णयका आधारमा अहिले त्यस्तो सम्पत्तिको लगत संकलनको काम प्रदेशस्तरमा पार्टी एकीकरण गर्न गठित कार्यदलले गरिरहेको छ,’ थापाले अन्नपूर्णसँग भने, ‘त्यस्तो सम्पत्तिको लगत हामीले हाम्रो प्रदेशमा भने करिब सकेका छौं।’

सबै तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।