प्रचण्ड समूहको आन्दोलन – ‘आउन त आए तर के का लागि आए, थाहाँ छैन’

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, १० माघ ।

रौतहट जिल्लाका भगवत माली प्रचण्ड–माधवको आन्दोलनका लागि काठमाडौं आउनुभएको छ । फुल गाँसेर जिविको पार्जन गर्ने मालीलाई आफू काठमाडौं किन आएको भन्ने नै थाहा रहेनछ । के का लागि आउनुभयो भन्ने प्रश्नमा उनले सिधै केपी ओलीको पक्षमा आएको बताए ।

रोचक कुरा त मालीलाई न त पार्टी विभाजन भएको भन्ने नै थाहाँ रहेछ नत, यो आन्दोलन केपी ओलीको विरुद्ध भन्ने नै थाहाँ थियो । राम्रोसँग नेपाली नबुझ्ने मालीले आफू केपी ओलीको पक्षमा आएको बताएपछि सँगै आएका अर्का साथीले नबोल्न आग्रह गरे र रोके ।

आन्दोलनका लागि उनी र उनका गाउँका थुर्पै मानिसहरू हिजो (बिहीबारदेखि) ल्याइएको रहेछ । धेरैलाई किन आएको भन्ने थाहै रहेनछ । ‘सबैले जाऊँ भने, त्यसैले आएको हो तर किन आएको थाहा छैन’ मालीले भने ।

राती काठमाडौँको कुन ठाउँमा बसेको समेत उनले भन्न सकेनन् । ‘कहाँ बसेको हो,ठाउँको नाउँ थाहा छैन, उता डाँडामा राखे, बिहान खाना खुवाए’ उनले भने ।

माली जस्तै धनुषा जिल्ला चारनाथ गाउँपालिकाका पल्टु मुखियापनि प्रचण्ड–माधव समूहको आन्दोलनमै देखिए । उमेरले ७० कटेका यी मुखियालाई न त यो आन्दोलन कस्ले गरेको थाहाँ थियो, नत यो आन्दोलनको उद्देश्य नै ।

कम्युनिष्टलाई माया गर्ने मुखियालाई यो आन्दोलन कुन पार्टीको भन्ने नै थाहाँ रहेनछ । यो आन्दोलन कस्को भन्ने प्रश्नमा उनले धेरै अकमकिएर थाहाँ नभएको बताए । सर्लाही हरिहरपुरका मुनाफा मन्सुरपनि आन्दोलनका लागि रातभर जाग्राम हुनु परेको बताउँछन् । आफ्नो क्षेत्रको सांसदको जागिर गएको बताएपछि आन्दोलनमा आउनुपरेको उनले बताए ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुर्पै पात्रहरू थिए जस्लाई प्रचण्ड–माधव समूहको शनिवार काठमाडौँमा भएको शक्ति प्रदर्शनमा आफू किन आए भन्ने नै थाहा थिएन ।

आन्दोलनमा सहभागी धेरैले जाडोको किनमेल पनि हुने काठमाडौँमा घुम्न पनि पाइने भएकाले आफूहरू काठमाडौं आएको बताए । ‘सित्तैमा काठमाडौँमा घुम्न पनि पाइने, किनमेल गरेर जानपनि पाइने, त्यसमाथि सित्तैमा खाना पनि खुवाउँछन्,नाम नछापिदिन’ अनुरोध गर्दै एक सहभागीले भने ।

कतिपय सहभागीहरूले भने कार्यक्रममा नगए पछि अप्ठ्यारो पारिदिनेभन्दै नेताहरूले उर्दी लगाएको बताए । आफूहरू बाध्यताले काठमाडौं आएको धेरैको गुनासो थियो । ‘अहिले नजाऊ,पछि हामी चाहिएला भनेर धम्काउँछन् त्यसैले यस्तो जाडोमा पनि आयौँ’अर्का सहभागीले भने ।

आन्दोलनमा आएका अधिकांश सहभागीहरू कार्यक्रम स्थलसम्म पुग्दा नपुग्दै तितर बितर भएबाटै पनि बुझिन्थ्यो की उनीहरू आन्दोलनमा मन खोलेर आएका होइनन् । प्रर्दशनीमार्गसम्म जसोतसो पुगेको सहभागीहरू त्यहाँ आइपुगन पाउँदा नपाउँदै लाखापाखा लागे ।

उनीहरूमा कार्यक्रममा बसेर नेताहरूको भाषण सुन्ने न त धैर्यता नै थियो न त उत्साह नै । लाखापाखा लागेका अधिकांशको जवाफ सुन्दा लाग्थ्यो उनीहरू दबाब, प्रभाव र भ्रम पालेरमात्र त्यहाँ आएका हुन् ।

कार्यक्रममा आएका कतिपय सहभागीहरू त पशुपतिमा भेटिए । नेताहरूको भाषणभन्दा भगवानको दर्शनको चटारोमा थिए उनीहरू । आफूहरू कसैको भाषण नबुझ्नेभन्दै उनीहरूले आन्दोलनको निहुँमा पशुपतिको दर्शनका लागि आएको बताए ।