नेपाली जनता ओलीका दास होइनन : अध्यक्ष नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, ९ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताहरु आदेशमात्र सहिरहने प्रधानमन्त्री केपी शर्मा ओलीको दास नभएको बताएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘बालुवाटारमा बैठक भनेर हामी कुरेर बस्थ्यौँ, उहाँ आउनु हुन्थेन’ नेता नेपालले भने, ‘एकछिनपछि ओलीको आदेश आउँथ्यो । आज बैठक क्यान्सिल । आदेश, आदेश, आदेश ।’ सरकारको नेतृत्वका लागि पठाइएका ओलीले पार्टीलाई नटेर्ने गरेको बताउँदै नेपालले भने, ‘पार्टीले सरकारलाई निगरानी गर्छ । नगरपालिकामा कस्तो काम भइरहेको छ ? निगरानी गर्छ । हामीले आश्वासन कम बाँड्नोस्, काम गरेर देखाउनुहोस् भनेका थियौँ । उहाँले पार्टीलाई टेर्दै टेर्नु भएन ।’

अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको समेत बताए । ’केपी ओलीलाई कम्युनिष्ट पार्टीको सदस्यबाट निस्कासन गर‍्‍यौं । उहाँले स्पष्टीकरणको जवाफ दिनु भएको छैन,’ अध्यक्ष नेपालले थपे, ’म भर्खर सुर्खेतबाट आउँदै छु । कतै चिठी आइहाल्यो कि ? सुध्रेको कुनै कागज आएको छ कि ? गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? कतै प्रतिनिधिसभा विघटन गर्नु गलत हो, त्यो पुनःस्थापना गर्न म पनि जुलुसमा हुन्छु भन्छन् कि ? मान्छेले गल्ती गर्छन् अपराध गर्छन् । अनि समयमा सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । केही फरक पर्दैन । हैन भने सुरुमै माफी दिउँला । केही फरक पर्दैन ।’ उनले ओली नेपाली शैलीको हिटलर समेत भएको बताए ।