माधव नेपाललाइ जेल हाल्ने तयारी !

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, ८ माघ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओली समूहका एक नेताले माधव नेपाल छिट्टै जेल जाने बताएका छन् । मंगलबार आयोजित बझाङ जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका हुन् ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रसंग कोट्याउँदै उनले भने, ‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जानेवाला छन्,’ ‘त्यही काम गरेका दीप बस्न्यात जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ?’

तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छलफल गरिएको कुरा लिखित रूपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो । ‘त्यो लिखत आवश्यक परे जनतालाई बाँड्न तयार छौं,’ उनले भने ।

उनले तत्कालीन माओवादी लडाकुको विषय छानबिन हुने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कारबाही हुने बताए । ‘६/७ हजार लडाकुलाई ३७ हजार पुर्‍याएँ भनेर प्रचण्डले बोलेको भिडियो तपाईंहरूले देख्नुभएकै होला,’ उनले भने, ‘लडाकुले पाएको चेक खोसेर खाएको कुरा पनि सबैसामु छर्लंगै छ ।’

उनले भ्रष्टहरूले आफ्ना कर्तुत ढाकछोप गर्नका लागि गठबन्धन बनाएको आरोप लगाउँदै त्यो सफल नहुने ठोकुवा गरे । ओलीको जोडबलमा सुशील कोइराला सरकारका पालामा मन्त्री भएका थापाले झन्डै दुई घण्टा लामो भाषणमा धेरैजसो समय दाहाल–नेपाल समूहका नेता भीम रावलको विरोधमा खर्चेका थिए ।

आफूले पद नपाएका कारण रावलले नेपाल र दाहाललाई उचालेर पार्टीलाई फुटको बिन्दुसम्म पुर्‍याएको उनको आरोप छ । उनले दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठको आरोपपत्र पनि रावल र सुरेन्द्र पाण्डेले तयार गरेको र दाहालले हस्ताक्षर मात्रै गरेको दाबी गरे । नेकपा विवादले नेपाली राजनीतिमा अझै फरक दृश्यहरु प्रदर्शन गर्ने संकेत देखिएको छ ।