अर्को खिलराजको खोजी भईरहेको पुर्वमन्त्री वर्षमानको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिंड्न खोजेको बताएका छन्। प्रचण्ड–नेपाल पक्षको प्युठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए। ओलीविरुद्ध आफ्नै पार्टीका बहुमत सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको भन्दै उनले आफ्नो दल र पार्टीमा समेत विश्वास कायम गर्न नसक्ने नेतालाई जनमत भंग गर्ने अधिकार नरहेको बताए।

‘बहुमतको प्रधानमन्त्रीलाई सरकार चलाउन सकिन भनेर संसद भंग गर्ने अधिकार संविधानले कहीं पनि दिएको छैन’, पुनले भने, ‘राजीनामा दिएर बाटो लाग्ने हो, मार्गप्रसस्त गर्ने हो। घात गर्ने होइन।’ संविधनमा कहीं पनि संसद भंग हुने व्यवस्था नरहेकाले पुर्नस्थापना हुने विश्वास पनि उनले व्यक्त गरे।

संसद् पुनर्स्थापना नभए संविधान मिचिने र ७० वर्ष लामो संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धी गुम्ने प्रक्रियातिर जाने पुनको भनाइ थियो। संविधानमा व्यवस्था नभएकोबारे जानकारी भए पनि राष्ट्रियरअन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा निकायको सेटिङमा प्रतिनिधिसभा विघटन भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ। ओलीले विपक्षी र विरोधीलाई पेलेर अझै डेढरदुई वर्ष सत्ता चलाउने सपना देखेको तर, त्यो सम्भव नभएको उनले बताए।

ओलीलाई उक्साएर प्रतिनिधि सभा विघटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उनको छ। ‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढरदुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भने, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ।’

पुनले २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गरे। तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उनले बताए।

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास गर्‍यौं, तर उहाँ बयलगाढाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ।’ गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप पुनले लगाए।

मन्त्रिपरिषदमा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको टिप्पणी पुनले गरे। ओलीमा आलोचना गर्नेलाई सत्रु र समर्थन गर्नेलाई दास ठान्ने प्रवृत्ति हाबी रहेको उनको आरोप छ। सोही प्रवृत्तिका कारण ओलीले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित महासचिव योगेश भट्टराईलाई ‘केटो’ को संज्ञा दिएको पुनले उल्लेख गरे।