ओलीको मुल शत्रु को हो , पार्टी निर्देशनमा किन यस्तो लेखे ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी बिरोधी गतिबिधि गरिरहेको आरोपमा कारबाही किन नगर्ने भन्दै नेकपाले सोमबार सोधेको पत्रमा तीन दिनभित्र स्पस्टिकरण दिन भनिएको छ । उक्त चिठी बुझाउन नेकपाका नेताहरू सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास,बालुवाटारको ३ नं. गेटमा पुग्नुभएको थियो ।

कारबाही किन नगर्ने भनेर सोधिएको पत्र बोकेर बालुवाटार गएको टोलीले गेटसँगैको सुरक्षा काउण्टरमा सम्पर्क गरी ‘हामी चिठी लिएर आएका हौं’ भनेको थियो । त्यसपछि सुरक्षाका कर्मचारीले प्रधानमन्त्री निवासको सचिवालयमा फोन गरेर ‘मुकुन्द र सुरेन्द्रले चिठी ल्याउनुभएको छ’ भनेपछि टोलीले प्रहरीलाई बुझाएको थियो ।

पत्र बुझाएपछि दर्ता नम्बर कति हो भनेर सोधिएको बताइन्छ । तर, सचिवालयका कर्मचारीले ‘यहाँ दर्ता गर्ने चलन छैन’ भनेपछि कारबाहीको पत्र स्वकीय सचिव इन्द्र भण्डारीको हातैमा सुरक्षाकर्मीले पुर्याएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।

प्रधानमन्त्री ओली एक्लो हिसाबले अहिले बजारमा सबैभन्दा चर्का भाषण गरिरहनुभएको छ । बालुवाटार निकट भनेर चिनिएकाहरूले त्यो दर्जामा उक्लिएर भाषण गरेको कमै सुनिएको छ । तरपनि ओली समूहले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ‘हाम्रो अन्तरबिरोध भएर तत्कालको लागि पार्टीको हिसाबले कमरेडहरू उता भएपनि हाम्रो मूलशत्रु चाँहि अरु नै छन्’ भनिएको छ । अपानिमा नरम कुरो लेखेपनि व्यवहारमा स्वयम प्रधानमन्त्री सबैभन्दा धेरै नेकपा( बहुमत) का नेताहरूमाथि खनिनुभएको छ । यसले पनि बालुवाटारको नीति र कामकुरोबीच कुनै तादात्म्य नरहेको पुष्टि गरेको बताइन्छ ।