आठ वटा जीवन बीमा कम्पनीहरुको ५ अर्ब बराबरको आईपीओ आउँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ माघ ।

८ वटा जीवन बीमा कम्पनीको ५ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन हुने भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड , आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ निष्काशन गर्ने तयारीमा रहेका छन् ।

बीमा समितिको प्रावधान अनुसार र्निजीबन बीमा कम्पनीहरुले निर्धारीत चुक्ता पूँजी पुर्याउनको लागि आईपीओ निष्काशन गर्नु पर्ने भएको हो । समितिको प्रावधान अनुसार १ अर्ब र जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । जसका लागि बीमा कम्पनीहरुले ३० प्रतिशत शेयर सर्वसाधारणको लागी छुटाउँनु पर्ने हुन्छ । हाल नेपालमा १९ वटा बिमा र २० वटा निर्जीवन गरी ३९ वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १२ वटा जीवन बीमा कम्पनीले समितिले दिएको निर्देशन आइपीओ निष्काशन गरी तोकिएको चुक्ता पूँजी पुर्याइसकेका छन् ।

आईपिओ जारी भएपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ,महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ५० करोड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब २० करोड रुपैयाँ, युनियन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

रेटिङ कुनले कति पाएः

यूनयन लाइफले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

सन नेपाल लाइफले पनि आईपिओको रेटिङ्ग गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ ।

त्यस्तै, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी– रेटिङ पाएको छ । कम्पनीले जारी गर्न लागेको आईपिओलाई इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी रेटिङ पाएको छ । कम्पनीले जारी गर्न लागेको आइपीओमा केयर रेटिङ नेपालले उक्त रेटिङ प्रदान गरेको हो ।