राष्ट्र बैंकको हल्ला र क्यूआर कोडको वास्तविकता

हाम्रो सन्देश संवाददाता

पछिल्लो दुई साताको अन्तरमा काठमाडौंका दुईवटा तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले किनेको केही तरकारी र खाएको चियाको रकम तिर्न नोट निकालेनन् । मोबाइलको स्क्रीनमा कालो धर्सा भएको कोठालाई पसलमा राखिएको त्यस्तै कोठामा देखाएर तिरिदिए । अन्य विद्युतीय माध्यमबाट गरिने भुक्तानीभन्दा फरक ढंगले मोबाईलको स्क्रिन देखाएर तिरिने क्यूआर बारेमा केन्द्रीय बैंकले जे भनेपनि धेरैजसोलाई खुल्दुली छ ।

नेपालमा यसको प्रयोग झण्डै तीन वर्ष पहिलेदेखि शुरु भएको हो । राष्ट्र बैंकले गैरबैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय माध्यमबाट कारोबार अनुमति प्रदान गरेपछि यसको औपचारिक प्रयोग भएको हो । चीनको भुक्तानी सेवा प्रदायक संस्था युनियन पे इन्टरनेशनलले नेपालमा कारोबारको लागि निवेदन दिएर प्राविधिक सहायता उपलब्ध गराएपछि यसको प्रयोग र विस्तार हुन थालेको हो । सोही संस्थाको सहयोगमा नेपालका बैंक तथा वित्तीय संस्था तथा केही भुक्तानी प्रदायक संस्थाहरूले पनि यसको सेवा विस्तार गर्न खोजिरहेका छन् । तर, सोचेअनुरूप अघि बढेको छैन ।

नेपालमा क्यूआर कोड विस्तार हुन थालेपनि मुलुकको केन्द्रीय बैंक अझै अलमलमै छ । उसले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा क्यूआर कोडको मापदण्ड तोक्ने बताएको थियो । तर आधा वर्ष व्यतित भइसक्दासमेत त्यसतर्फ एउटा अक्षर नचोपिएको स्रोतको दाबी छ । बरु यसबीच केही बैंक तथा वित्तीय संस्थाहरूले क्यूआर कोड जारी गरेका छन् । तर,एउटा संस्थाको क्यूआर कोडबाट अन्यको क्यूआर कोडमा भने कारोबार गर्न सकिँदैन । त्यसको लागि सबै संस्थाले जारी गरेको क्यूआर कोडबाट नेटवर्कभित्र कारोबार गर्न क्यूआर कोड एकीकृत स्वीचको आवश्यकता पर्छ । त्यसतर्फ हालसम्म कुनै प्रयास नै भएको देखिँदैन ।

प्राविधिक रूपमा क्यूआर कोडमा सानो र ठूलो कारोबार गर्ने मर्चेण्ट, व्यापारी वा संस्थालाई दुई तहमा छुट्टयाउनुपर्ने हुन्छ । मर्चेण्ट र ग्राहकको लागि छुट्टै कोड र न्यूमेरिक तथा क्यारेक्टर गरी निश्चित अंक एवम् अक्षर पोष्टिङ्ग गर्नुपर्ने हुन्छ । स्क्यान गर्दा ती सबै विवरण प्रष्ट देखिनुपर्छ । त्यसको निम्ति भिसा,माष्टर र युरोपियन पे जस्ता विश्वव्यापी कम्पनीहरूको लगानीमा स्थापना भएको इएमभी कम्पनीले निर्धारण गरेको मापदण्ड नेपालले अपनाउनुपर्ने हुन्छ । यसो गर्न ढिलो भइसकेको छ ।

त्यसपछि नेपालको इएमभी कोड यकिन गरी क्यूआर पेमेण्टको नेशनल स्वीच स्थापना र कारोबार स्वीकृति प्रदान गर्नुपर्नेमा त्यो पनि भएको छैन । त्यसको निम्ति आवश्यक पूर्वाधार र कानुनी व्यवस्थाको तर्जुमा गर्नुपर्नेमा मुलुकको केन्द्रीय बैंक र भुक्तानी प्रणालीको नियमनकारी निकाय लहलहै र सतही चर्चा बटुल्नमै सीमित भएको आरोप लाग्न थालेको छ ।

क्यूआर कोड स्वीच नभएसम्म सतही प्रचारले मात्र केही नहुने यसअघिको नेशनल पेमेण्ट गेटवे स्वीचले समेत पुष्टि गरिसकेको छ । यहि पाराले केन्द्रीय बैंक अघि बढ्ने हो भने क्युआर कोडको हविगत पनि मोबाईल बैंकिङ्गभन्दा फरक नहुने विज्ञहरू बताउँछन् । मुलुकको केन्द्रीय बैंकका गभर्नरले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गरेका समाचारहरू पढ्दा र हेर्दा जति राम्रा र आकर्षक लाग्छन् त्योभन्दा निकै कमजोर यसका पूर्वाधार देखिन्छन् ।

कुनै एउटा बैंक तथा गैरबैंक वित्तीय संस्थाले एकजना तरकारी वा चिया पसलेलाई मर्चेण्ट बनाउन र एउटा ग्राहक दर्ता गरी एकाध कारोबार गरेको देखाउन सहज हुन्छ । तर, क्यूआर कोडको मर्म,उपादेयता, महत्व र सम्वेदनशीलताअनुसार कारोबार गर्न आवश्यक भौतिक पूर्वाधार र सुरक्षा व्यवस्थातर्फ भने नियमनकारी निकायको ध्यान पुगेको छैन ।

हालै उद्घाटित क्यूआर कोड प्लेटबाट भएका कारोबारको प्रभावकारिता र विस्तार हेर्न धेरै समय कुर्नुपर्दैन । एकाध महिनापछि ती प्लेटमा जम्ने धुलोले क्यूआर कोडबारे राष्ट्र बैंकले गरेको अहिलेको चर्चा र पर्याप्त पूर्वाधार अभावलाई छरपस्ट पार्ने निश्चित छ । क्यूआर कोडको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड, नेशनल क्युआर कोड स्वीच,क्युआर कोड साक्षरता अभियान,सोसँग सम्बन्धित सुरक्षा व्यवस्था र भुक्तानी तथा फछर्यौटको समयसीमासम्बन्धी कुनैपनि नीतिगत व्यवस्था नगरी तरकारी बजारमा गरिएको प्रचारबाजी उद्घाटन नियमनकारी निकायको यथार्थलाई ढाकछोप गर्ने सतही प्रचार मात्र भएको सो क्षेत्रका प्राविधिकहरूले स्वीकार गरेका छन् । राष्ट्र बैंकको यहि पाराले आधुनिक भुक्तानी प्रणालीमा आगामी केही समयसम्म माखो पनि नमर्ने अवस्था टड्कारो हुँदै गएको छ ।

क्यूआर कोडको अवधारणा सन् १९९४ मा जापानबाट शुरु भएको हो । टोयोटा कम्पनीको पार्टपूर्जा उत्पादन गर्ने डेन्सोवेभ कम्पनीद्वारा उत्पादित सामानहरूको द्रुत पहिचानका लागि त्यतिबेला क्यूआर कोडलाई प्रचलनमा ल्याइएको थियो । त्यसैले त्यसको नाम क्विक रेस्पोन्स कोड राखियो । अहिले बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी प्रयोजनको निम्ति प्रयोग गर्ने त्यहि विधिलाई क्यूआर कोड भनिन्छ ।

विकसित समाज र अर्थतन्त्रमा भुक्तानी प्रणालीका विभिन्न उपकरणहरूमध्ये सर्वाधिक रुचाइएको माध्यम नै क्यूआर कोड हो । विश्वमा भुक्तानी सेवा प्रदायकका लागि नाम कमाएका कम्पनीहरूले यसको प्रयोगसँगै बहुराष्ट्रिय कम्पनीमा परिणत हुँदै आफ्ना सेवालाई सीमाविहीन बनाइरहेका छन् । विद्युतीय माध्यमबाट गरिने भुक्तानीमा भएको बढोत्तरीसँगै क्यूआर कोडको सेवा प्रदान गर्न थालेका चीनको अलिपे र विच्याट, भारतको पेटिएम विश्वका ठूला कम्पनीमा परिणत भएका छन् । कोरोना महामारीपछि वस्तु वा सेवा खरिदमा यसको प्रयोग विश्वमा ह्वात्तै बढेको छ । तर,हाम्रोमा खासै प्रचार समेत हुनसकेको छैन ।

– द्रव्य शाह

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।