काठमाडौं, ५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा कारवाही प्रक्रिया अघि बढाएको छ।
पार्टी विधानविपरित काम गरेको निष्कर्षसहित नेकपाले सोमबार अपरान्ह ओलीलाई स्पष्टिकरण पत्र लेखेको छ। उक्त पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको नेकपाले जनाएको छ।
स्पष्टिकरण पत्र पार्टी विधानविपरित काम गरेको हुँदा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनी ओलीलाई सोधिएको छ ।
स्पष्टिकरणपत्र बुझाउन नेकपा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।
यसअघि बसेको स्थायी कमिटीको निर्णयअनुसार ओलीलाई स्पष्टिकरणपत्र बुझाएको हो । पत्रमा दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
प्रचण्ड-नेपाल र ओली समुहबीच झडप, ओली समुहका नेता कुटिए
हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।
आईतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनु भयो ।
थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडा अध्यक्ष थापाको उपचार नहुन भएपछि माउण्टेन एयरको हेलीकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फडेराले बताउनुभयो।
वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्वमाओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा २ समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।