काठमाडौं, ५ माघ ।
मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
नेकपा (ओली समूह) प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेले मुलुकका सम्मानित संस्थामाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् ।
देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए । नेकपा दाहाल-नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्चार माध्यममा गएर असभ्य बोल्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।
उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।