ओलीलाई प्रचण्डको प्रश्न – संसद विघटन भारतले गर्न लगाएको हो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ माघ ।

नेकपा प्रचण्ड—नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन भारतले गर्न लगाएको हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन ।

बुधबार काठमाडौं बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन भारतले गर्न लगाएको हो भन्दै ओलीलाई प्रश्न गरेका हुन् । उनले जी न्यूजबाट प्रसारण गरेको अन्तर्वार्ता नाटक मात्रै भएको समेत बताए । प्रचण्डले भारतका गुप्तचरहरु आउँदा परराष्ट्रको मान्छे नराखि रातारात भेटेको पनि स्मरण गराए ।

अध्यक्ष प्रचण्डले भने ‘ओलीमा देखावटी राष्ट्रवाद त छ तर असली राष्ट्रवाद छैन भन्ने कुरा विभिन्न घटनाक्रमले देखाएका छन् । दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै काम गर्न नसकेपछि संसद भंग गरेर देशलाई प्रतिगमन तर्फ धकेल्न खोज्दै छन् ।

प्रचण्डले यस्तो अवस्थामा आफु प्रधानमन्त्री भएको भए राजिनामा समेत दिने उल्लेख गरे । ओली जीले प्रधानमन्त्री,अध्यक्ष छाड्न परे कुर्सि पनि भाच्छु भन्नुहुन्थ्यो तर अहिले त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै भाच्ने प्रयास गर्नुभयो’ प्रचण्डले भने ।