केही महिनाभित्रै हामी विजयी हुन्छौं, केपी गुटको पतन अनिवार्य छ : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ पुस ।

नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै आफूहरू विजयी हुने दाबी गरेका छन्। पोखरामा मंगलबार आयोजित भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्।

अध्यक्ष प्रचण्डले पुस ५ मा ओलीले संसद विघटन गर्नुलाई कलंकको टीकाका रूपमा अर्थ लगाएका छन्।

‘केही महिनाभित्रै हामी विजयी हुन्छौं। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं। मैले केपी ओलीलाई नै भनेको छु-तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।’

नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उनले दाबी गरेका छन्।