गायक हेमन्त शर्माको अनुभवः काठमाडौँमा घर किन्नुभन्दा बनाउनै बेस

हाम्रो सन्देश संवाददाता

हेमन्त शर्मा, गायक

२४ वर्ष पहिले काठमाडौँ छिर्दा घरको सपना थिएन । त्यो समय राम्रो डेरामा बस्न पाउँदा पनि मक्ख परिन्थ्यो । घर त कल्पनाभन्दा बाहिरकै सपना थियो । तर, काठमाडौँ बस्न थालेको करिब एक दशकपछि भने घरको सपना पलाउँदै आयो ।

घरको सपना पूरा गर्न कमाएको पैसा जम्मा गर्न थालेँ । २० लाख रुपैयाँ बैंकबाट ऋण लिएँ । यसले काँधमा जिम्मेवारी थपियो । एकातिर घर बन्ने भयो भनेर खुसी थिएँ भने अर्कोतिर ऋणले नराम्रोसँग थलिएको थिएँ । तर, घरले मलाई पहिलाभन्दा मिहिनेती बनायो । कमाएको पैसा जम्मा गर्न सिकायो ।

सुरुमा अलिअलि गरेर पैसा जम्मा गरेँ । साथीभाइसँग मिलेर १९ आना जग्गा किनेँ । मेरो भागमा ८९ हजार रुपैयाँ परेको थियो । त्यसलाई ५ लाख रुपैयाँमा बेचेर अर्को जग्गा किनेँ । केही पैसा बैँकबाट ऋण लिएँ । अपुग पैसा घरबाट बुबाले सपोर्ट गर्नुभयो । यताउति गरेर ४५ लाख रुपैयाँ जम्मा भयो । ४५ लाख रुपैयाँमा न्युरोडतिर आफूले सोचेजस्तो घर किन्न सक्ने कुरै थिएन । त्यसैले रिङरोडतिर गच्छेअनुसारको घर पाइन्छ कि भनेर खोज्दै हिँडेँ । धापासीमा ठ्याक्कै आफ्नो गच्छेअनुसारको घर भेटियो । नजिकका केही आफन्तहरूको घर पनि यतैतिर भएकाले यहीँ ठाउँ रोजेँ ।

उपत्यका बाहिरबाट आउने हामीजस्ता मध्यमवर्गीय मानिसको आवश्यकता हो, काठमाडौँमा घर । मिहिनेत ग¥यो भने काठमाडौँमा घर बनाउन सकिन्छ । तर, हामीले आर्थिक कारणले आफूले सोचेजस्तो घर बनाउन वा किन्न सकिँदैन । त्यसैले मैले पनि घर बनाइनँ, किनेँ । बन्दै गरेर घर किनेको थिएँ । फिनिसिङ, रङरोगन आफैँले गरेँ । ग्रिल हालेँ । सिँढीहरू आफैले आफ्नै रोजाइअनुसारको बनाएँ ।

काठमाडौँमा घर भएपछि आफूलाई पूर्ण भएको महसुस हुँदो रहेछ । घर भएपछि आफ्नै सुविधाअनुसार आउजाउ गर्न मिल्यो । सेलिब्रिटी लाइफ सधैँ सबेरै घर आउन सकिँदैन । आफ्नै सुविधाअनुसार राती जति खेर पनि आउजाउ गर्न सकिने भयो । डेरामा बस्दा बिसञ्चो भएर रातबिरात निस्कनुपर्दा पनि घरबेटीको डर लाग्थ्यो ।

घर मेरा लागि साह्रै लक्की भयो । यही घरबाट मोटरसाइकलदेखि कारसम्मको यात्रा गरेँ । घर सरेपछि संसारका १८÷२० देश घुम्ने मौका पाएँ । दुई सन्तान पनि यहीँ घरमै हुर्किए ।

मेरो परिवारमा आमा–बुबा, श्रीमती र दुई छोरा छन् । आमाबुबा भैरहवा बस्नुहुन्छ । छोराहरू पढ्न विदेश गएका छन् । अहिले घरमा श्रीमती र म मात्रै बस्छौँ । पहिला एउटा कोठामा चार जना बसिन्थ्यो । अहिले सिंगै घरमा दुई जना मात्रै । जिन्दगी भनेकै यही रहेछ ।