साथीको ऋण तिर्न ट्वाइलेट सफा गरे, आफु जत्रै ठूला भाँडा माझे : निश्चल बस्नेतको संघर्षको कथा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मानिसका सपना समयसंगै परिवर्तन हुन्छन् । कति पुरा हुन्छन् तर कति सपना सपनामै सिमित हुन्छन् । लोभलाग्दो ख्याती कमाउन सफल उनी कलाकारको सबै क्षेत्रमा उत्तिकै अब्बल छन् ।

किशोर अवस्थामा पढाइभन्दा फुटवलमा बढी लगाव थियो । त्यसैले उनको परिवारको सपना डाक्टर र इन्जिनियर बनोस् भन्ने चाहना पुरा हुने संकेत थिएन । दिनभरी फूटवलसंग कुदिरहने उनी राष्ट्रिय खेलाडी बन्ने सपना लिएर काठमाडौं आए । तर उनको त्यो स्टाइकर बन्ने सपना बिचैमा छोडेर उनी संगित साधनामा लागे । बाथरुम सिंगरका रुपमा रहेका निश्चल गितार सिक्न हिँडे । उनी गितार बोकेर दर्शक भए नभएपनि स्टेजमा गाउँथे ।

किशोर अवस्थामा बनाएको म्युजिक भिडियो अहिले कहाँ छ उनलाई थाहा छैन । गीत रेकर्ड गर्ने पैसा जुटाउन उनलाई निकै हम्मेहम्मे पर्थे । आमाबुवालाई घुर्की लगाउँथे । तिनचार दिन घरवाट गायब भएपछि अनि घरवाट पैसा जुट्थ्यो । आफुले चालेका केही काम असफल भएपछि उनी निकै निरास भए । अष्ट्रेलिया पुगेर पनि उनको सपना पुरा हुन सकेन । उनले पढ्ने कलेज सरकारले बन्द गरिदिएपछि त्यहाँ पनि उनले सं घ र्ष गर्नुपर्ने भयो ।

अष्ट्रेलियामा बसेर निरासामा हुँदा सिडिमा हेरेका नेपाली फिल्मको क्वालिटि हेरेपछि उनले यो भन्दा राम्रो फिल्म म आफै बनाउँछु भनेर मनमा अठोट गरे । अष्ट्रेलियामा ६ महिना बस्दा लागेको ऋण तिर्न ट्वाइलेट सफा गरे, आफु भन्दा ठूला भाँडा भित्रै पसेर सफा गरे अन्य त्यस्तै काम गरे । अनि सबैको ऋण तिरेर नेपाल फर्किए । अहिले उनी सफल कलाकार छन् ।

चलचित्र ‘लुट’ को निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ मोडदिन सफल निर्देशक हुन्– निश्चल बस्नेत । निश्चल टलक जंग भर्सेस टुल्के, लुट–२ आदि चलचित्र निर्देशन गरेर सफल निर्देशकका रूपमा स्थापित भैसकेका छन् । पछिल्लो समय निश्चलले आफूलाई निर्देशकका रूपमा मात्र सीमित राखेका छैनन्, उनले आफूलाई गायन, नृत्य तथा अभिनयमा समेत निखार्दै गएका छन् । काले दाइदेखि कुटुमा कुटुसम्मका गीतका आकर्षक नृत्य गर्ने निश्चलले चलचित्र कबड्डी–कबड्डीमा उत्कृष्ट अभिनय समेत गरे ।

निश्चल बस्नेत मनोरञ्जनका सबै विधामा अब्बल छन् । निश्चलले निर्देशकका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् भने अभिनय, नृत्य तथा गायनमा समेत उनले राम्रो सम्भावना देखाएका छन् । समग्रमा उनी भर्सटायल कलाकार हुन् । त्यस समयको नेपाली चलचित्र नगरीमा सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो उनीद्वारा निर्देशित चलचित्र लूटले । लूटले दर्शकको मन जिते सँगै उनले सफल निर्देशकको ट्याग पाए । त्यसपछि उनले चलचित्र टलकजंग भर्सेस टुल्के निर्देशन गरे ।

चलचित्र अपेक्षा गरेअनुरुप सफल नभए पनि उनको कामले भने चौतर्फी प्रशंसा बटुलेको थियो । उनले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘लूट २’ । ‘लूट २’ लाई पनि दर्शकले मन पराएका थिए । उनले निर्माण गरेका चलचित्र अन्तर्गत भने कबड्डी, कबड्डी कबड्डी, २ रुपैयाँ हुन् । उनले अन्य केही चलचित्रहरुमा अभिनय त गरेका छन् नै विभिन्न चलचित्रका आइटम गीतहरु गाउनुको साथै नृत्यसमेत गरेका छन् ।

यतिबेला उनी निर्देशनमा भन्दा पनि अभिनयमा जोड दिइरहेका छन् । यस्को मतलब उनले निर्देशनलाई बिर्सिएका भने हैनन् । ‘मलाई चलचित्र टलक जंग भर्सेस टुल्के र लूट २ ले केही पाठ सिकाएको छ । म चलचित्र निर्देशन गर्छु तर अझै केही समय लाग्छ’, निश्चलले भने ।