काठमाडौं, २६ पुस ।
आइतबार एकैदिन सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ । यसैगरी चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि मूल्य अस्थिर भएको महासङ्घले जनाएको छ ।
अव एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा लाग्ने
माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो । यस्तै ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् ।
अहिलेसम्म यो व्यवस्था नरहेको र अब भने अनुमति लिएर र जानकारी गराएर शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पूर्ण सुरक्षाको प्रबन्ध मिलाएर विद्युतीय कारोबारमा प्रयोगकर्ताको युजर नेम र पासवर्ड हराएमा आफै प्राप्त गरेर फेरि सेवा सुरु गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।