ओलीलाई सिके राउतकाे साथ, जारी गरे यस्ताे विज्ञप्ति

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै मधेसमा आफ्नालागि ‘स्पेस’ खोजिरहेका छन् ।
आफ्नो राजनीतिक छवि मधेसविरोधी भएकै कारण उनका लागि तराई मधेसमा अनुकुल राजनीतिक वातावरण बन्न सकेको छैन । प्रधानमन्त्री ओलीलाई यतिबेला सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले तराई मधेसमा राजनीतिक स्पेसका लागि सघाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन जनमत पार्टीका केन्द्रीय सदस्य मोहम्मत अब्दुल खानले विज्ञप्ति जारी गरी संसद विघटनको घटनालाई ‘दुःखद्’ भनेका छन् । तर त्यसपछि प्रधानमन्त्री ओलीको सो कदमका विरुद्ध जनमत पार्टी रहस्यमय रुपमा मौन बसेको छ । बरु सो पार्टी जोडतोडका साथ चुनावको तयारीमा लागेको छ ।

प्रतिनिधिसभा विघटनलगत्तै जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद् घटना हो । यस विषयमा हाम्रो पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको अवस्था छ । साथै पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको छ ।’

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै जनमत पार्टीले भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडीको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामकै रूपमा संघीय सदन विघटन हुनुपरेको ठहर गरेको थियो ।

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर स्वराज कायम गर्न जनतासँग सो पार्टीले अनुरोध पनि गरेको छ ।
जिल्ला, पालिकाहरुमा अधिवेशन गर्दै चुनावको तयारीमा जुटिसकेको जनमत पार्टीले मधेसमा आन्तरिक रुपमा प्रधानमन्त्री ओलीलाई सघाइरहेको तथ्यलाई सो विज्ञप्तिले पनि संकेत गरेको छ ।

प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजिवीहरु सडकमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको देशव्यापी रुपमा विरोध भइरहेको अवस्थामा जनमत पार्टीले प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थितिबारे एक शब्द पनि नबोल्नुले मधेसमा प्रधानमन्त्री ओलीलाई सो पार्टीले सघाइरहेको पुष्टि भएको जानकारहरु बताउँछन् ।

‘संसद विघटन हुनु दुःखद् हो तर एकातिर नयाँ जनादेशको लागि मौका आएको पनि कुरा सही हो,’ सो पार्टीका नेता चन्दन सिंहले भने, ‘जे हुनु थियो, भयो । त्यो दुःखद् भयो तर अब चुनावको तयारीमा लाग्नुपर्छ, जनमत पार्टी चुनावको तयारीमा लागिसकेको छ ।’

उनले नयाँ जनादेशका लागि डराउनु भनेको लोकतन्त्रको उपहास हुने बताए । लोकतन्त्रमा नयाँ जनादेशबाट डराउन नहुने उनको भनाइ छ ।
मधेसमा जनमत पार्टीले प्रधानमन्त्री ओलीलाई सघाइरहेको भन्ने कुरालाई भने उनले अस्वीकार गरे । तर चुनावमा ओलीको पार्टीसँग गठबन्धन हुने सम्भावनालाई उनले अस्वीकार गर्न सकेनन् । उनले भने, ‘चुनावमा नेकपाको ओली पक्षसँग मात्र होइन, अन्य दलसँग पनि गठबन्धन हुनसक्छ, चुनावी गठबन्धन तथा सहकार्यका लागि दलहरुबाट प्रस्तावहरु पनि आइरहेका छन् ।’

सिंहले त्यस्तो दावी गरे पनि उनकै पार्टीका एकजना नेताले प्रधानमन्त्री ओली आफ्नो पार्टीका नेता सिके राउतको सम्पर्कमा रहेको बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मात्र होइन, उनका पार्टीका अन्य नेताहरुले पनि सिके राउतसँग नियमितजसो सम्पर्क गरिरहेका हुन्छन् ।

नेपालबाट मधेसलाई अलग गरेर छुट्टै देश बनाउनुपर्ने भन्दै सिके राउतले लामो समय अभियान नै सञ्चालन गरेका थिए । सोही अभियानको क्रममा उनी पक्राउ परेका थिए । उनी जेलमै रहेका बेला प्रधानमन्त्री ओलीले उनीसँग सहमति गर्दै उनलाई आफ्नो पक्षमा पारेका थिए ।

सिके राउतले त्यही बेला नै विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आउने निर्णय गरेका थिए । सरकारसँग सम्झौता भएपछि बाहिरिएका सिके राउत त्यसयता निरन्तरजसो प्रधानमन्त्री ओलीको सम्पर्कमा रहेको बताइन्छ ।

हुन पनि, सरकारसँग सहमति गरेर राष्ट्रिय राजनीतिको मूलधारमा आए यता सिके राउतले प्रधानमन्त्री ओलीको आलोचना कहिल्यै गरेका छैनन् । जबकि, अलग मधेस बनाउने अभियानमा लागेको बेला सिके राउतले सबैभन्दा बढी आलोचना प्रधानमन्त्री ओलीकै गर्थे ।

देशमा यस्तो राजनीतिक दुर्घटना हुँदासमेत जनमत पार्टीका अध्यक्ष राउतले आफै विज्ञप्ति जारी नगरी एकजना केन्द्रीय सदस्यबाट विज्ञप्ति जारी गराउनुले पनि राउतले ओलीलाई समर्थन गरेको पुष्टि भएको जानकारहरु बताउँछन् ।
उल्लेखनीय छ, नेकपाको ओली समूहको राजनीतिक धरातल मधेसमा कमजोर छ । मधेसमा आफ्नो प्रभाव बढाउनका लागि नेकपा ओलीसमूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोेखरेल, स्थायी कमिटी सदस्य प्रभु साह र रघुवीर महासेठलाई खटाइएको छ ।

पछिल्लो समय यी तीनै केन्द्रीय नेताहरु मधेसमा संगठन निर्माणका लागि केन्द्रित भएका छन् । खासगरी उनीहरु प्रदेश २ मा दिनहुँजसो केही न केही राजनीतिक गतिविधि गरिरहेका हुन्छन् ।