काठमाडौं, २२ पुस ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सयले बृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९६ हजार ४ सय रहेको थियो । भने आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ९६ हजार ७ सय कायम भइ कारोेबार भइरहेको नेपाल सनमहासंघले जनाएको छ ।
त्यस्तै सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । भने मंगलवार तोलमा ११ सयले बृद्धि भइ प्रतितोला सुन ९६ हजार ४ सय रहेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार २ सय रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १ हजार ३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्व बैंकले दोहार्यो-नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र
कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ (सन् २०२०-२०२१)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्याएको छ ।
यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि बजेटमार्फत गरेको छ ।
विश्व बैंकका अनुसार अघिल्लो आव २०७६/७७ (२०१९/२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । यो आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।
विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।
यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर -०.७ प्रतिशत रहने भएको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हाँसिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ ।
पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।
विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ । खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ । सन् २०२० मा भने आर्थिक वृद्धिदर ४.३ प्रतिशतले संकुचित बनेको छ ।
यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।
चीन भने अघिल्लो वर्ष र यो वर्ष दुबैमा सकारात्मक वृद्धिदर कायम गर्न सफल भएको छ । चीनले सन् २०२० मा २ प्रतिशत र सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।