सिनेमा हल, विद्यालय लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीले मन्त्रिपरिषदमा प्रस्ताव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ पुस ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका क्षेत्र खुलाउन कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले घट्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाल बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिसमा सरकारले २०७६ चैत्र ६ गतेबाट विद्यालय, चलचित्र घर, जिमखानालगायत मान्छेहरुको जमघट हुने व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।

मठ मन्दिर, खेलकुद लगायतका क्षेत्रहरु खुलेपनि विद्यालय, चलचित्र घर, जिमखाना लगायतका केही क्षेत्रहरु अझै बन्द छन् ।

यसैगरी बैठकले बेलायत लगायतका देशमा देखिएको नयाँ स्वरुपको भाइसको जोखिम फैलिन नदिन ती देशबाट आएका व्यक्तिहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

नयाँ कोरोना भाइरसको संक्रमण प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए-नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने समेत सीसीएमसीको बैठकले निर्णय गरेको छ ।