काठमाडौं, १५ पुस ।
चिसो चुलिएसँगै साँझ–बिहान दिनदिनै झ्याप–झ्याप बिजुली जान थालेकाे छ। यसले उपभोक्तालाई फेरि लोडसेडिङका अध्याँरा दिन फर्कने हुन् कि भन्ने संशयले त्रसित बनाउन थालेको छ। सामाजिक सञ्जालमा अकस्मात विद्युत कटौतिप्रति सरकार र नेपाल विद्युत प्राधिकरणको चर्को आलोचना पनि भइरहेको छ ।
एक दशक लामो लोडसेडिङको कहर भोगिसकेका सर्वसाधारणका घरमा पछिल्ला तीन वर्षमा निर्वाधसरह बिजुलीको आपूर्ति भइरहेको थियो । तर, पछिल्ला महीनाहरुमा बिना सूचना बिजुली जान थालेपछि आजित उपभोक्तालाई लोडसेडिङको त्रासले झस्काउन थालेको हो ।
कतिपयले प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको कुशल व्यवस्थापन हटेसँगै फेरि लोडसेडिङ हुन लागेको भनेर समेत आक्रोश पोखिरहेका छन् ।
उपभोक्ताको गुनासोप्रति नेपाल विद्युत प्राधिकरण पनि बेखबर छैन। प्राधिकरणका प्रवक्ता मदन तिम्सिना पूरानो विद्युत वितरण प्रणालीका कारण बेला–बेला विद्युत जाने समस्या पहिलेदेखि नै कायम रहेको बताउँछन् । तर, यसको अर्थ लोडसेडिङ नै भएको भन्नेमा सत्यता नभएको उनको तर्क छ ।
तिम्सिना साँझ–बिहानको कुनै कुनै बेला माग अनुसारको विद्युत व्यवस्थापनमा चाप परेपनि लोडसेडिङ नै गर्नुपर्ने अप्ठ्यारो नपरेको बताउँदै भन्छन्, “लोडसेडिङ हुन लाग्यो भनी फैल्याइएको अफवाह गलत हो, यस्तो अफवाहले झन् विद्युत प्रणालीलाई अस्तव्यस्त तुल्याउँछ ।”
काठमाडौंमा अहिले विद्युतको उच्चतम माग करीब ३७७ मेगावाटजति छ । यो गत वर्षको भन्दा करीब ५० मेगावाट थोरै हो । तर, माग घट्दा पनि विद्युतको सुचारु आपूर्ति हुन नसकेपछि व्यवस्थापनमा त्रुटी भएको भनी आलोचनाहरु हुँदै आएका छन् । तर, प्राधिकरणका अधिकारीहरु त्यसलाई स्वीकार्दैन् ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाका अनुसार, विद्युतको वितरण प्रणाली, ट्रान्सफर्मर आदि निकै पूरानो छन् । बढेको विद्युत मागको भारलाई थेग्न तिनको क्षमताले पुग्दैन । जसकारण, बेलाबखत ती प्रणालीमा समस्या आइपर्छन्।
अर्कातिर, नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले पनि विद्युतको आपूर्तिमा गडबडी उत्पन्न हुन्छ । यसको असर विद्युतको नियमित आपूर्तिमा पर्नजान्छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने काठमाडौं उपत्यकामा प्रसारण प्रणाली पूर्ण नभएकाले विद्युत व्यवस्थापनमा व्यवधान उत्पन्न भइरहेको बताउँछन् । “कहिले कता कहिले कता ओभरलोड हुन्छ, जसलाई विद्यमान प्रणालीले थेग्दैन, जसले गर्दा विद्युत आपूर्तिमा अवरोध हुनपुग्छ,” उनले भने ।