काठमाडौं, ९ पुस ।
छुट्टिएको पाँच वर्षपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँ आउने अवस्था बनेको छ । आमाचकारी गाली गर्दै बाबुरामले प्रचण्डलाई त्याग्नुभएको थियो । अहिले आएर प्रचण्ड र बाबुरामका मुद्दा, विचार, राजनीतिक दृष्टिकोण र भावी रणनीति सबै मिलेको छ । यही कारण बाबुराम र प्रचण्ड एकै ठाउँ आइपुग्नुभएको छ ।भारतलाई हेर्ने दृष्टिकोण, केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र राजनीतिक स्थायित्व भत्काउने विषयमा उहाँहरु बीच पहिले देखि नै एकमतो देखिन्थ्यो । ओली सरकार ढाल्न प्रचण्डलाई बाबुरामले सकेसम्म सघाइरहनुभएको थियो ।
सरकार ढाल्नका लागि प्रचण्ड बाबुरामहरुले ओलीको छवी खुइल्याउनुपर्छ भन्ने बुझ्नुभएको थियो । त्यसैले ओलीलाई बदनाम बनाउने, हिलो छ्याप्ने अभियानमा प्रचण्ड र बाबुराम एक ठाउँ उभिनुभएको थियो ।चुनाव हुन नदिने, चुनाव भाँडेर मुलुकम पुन अराजकता र अस्थिरता सिर्जना गर्ने नियत पनि दुई नेताकाे मिलेकाे छ । दुवै नेताले अब चुनावकाे धुँवाधार विराेध गर्ने देखिएकाे छ ।ओली विरुद्ध एकढिका हुने क्रममा प्रचण्ड र बाबुराम क्रमश नजिकिँदै आउनुभएको थियो । ओलीलाई नेकपाभित्र एक्ल्याउनुपर्छ, हटाउनुपर्छ, कारवाही गर्नुपर्छ भनेर बाबुरामले खुलेआम विचार राख्दै प्रचण्डहरुलाई सघाउँदै आउनुभएको थियो । अन्ततः नेकपा विभाजित भयो, अब प्रचण्ड र बाबुराम एक ठाउँ आउने अपरिहार्य अवस्था सिर्जना भएको छ ।
ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्डहरुले संख्या पुराउन नसकेको अवस्थामा जनता समाजवादीले पनि सघाउने भएको थियो । अर्थात्, ओलीलाई सिध्याउने अभियानमा बाबुराम र प्रचण्डले निरन्तर सहकार्य गर्दै आउनुभएको थियो ।एमालेसँग एमाओवादी मिसिँदा बाबुरामले पनि सँगै आउने विचार गर्नुभएको थियो । त्यसबेला गोरखामा उम्मेदवार बन्न पाउनुपर्ने बाबुरामको माग माओवादी पक्षले मानेन । तर, विभाजित भएको पाँच वर्षपछि र चुनाव भएको करिब तीन वर्षपछि बाबुराम र प्रचण्ड एकै ठाउँ आइपुग्नुभएको छ ।
एमालेसँग एकीकृत भएपछि प्रचण्डले जातीय, क्षेत्रीय, साम्प्रदायिक मुद्दाहरु खासै उठाउन पाउनुभएको थिएन । पूर्व एमालेहरु यस्ता मुद्दासँग असहमत थिए । यस्ता मद्दाहरुमा बोल्न नपाएर प्रचण्डलाई उकुसमुकुस भएको जगजाहेर छ । अब प्रचण्ड त्यस्ता मुद्दा उठाउन फुक्काफाल हुनुभएको छ । आफ्नो समूहमा रहेका सानो संख्याका एमालेहरुलाई ध्यानमा राखेर प्रचण्डले जातीय साम्प्रदायिक विचार त्याग्ने सम्भावना देखिँदैन । बाबुरामले भने जातीय, धार्मिक तथा साम्प्रदायिकता भड्काउने विचार निरन्तर दिँदै आउनुभएको छ ।
साम्प्रदायिकता फैलाउने वैचारिक धारका अगुवा प्रचण्ड र बाबुराम रहँदै आउनुभएको थियो । एमालेसँग एकीकरण गरेपछि प्रचण्डले त्यस्ता एजेण्डा खुलेर उठाउनुभएन तर विरोध पनि गर्नुभएको थिएन । जातीयता साम्प्रदायिकता फैलाउने खालका विचार विरुद्ध प्रचण्डले नेकपामा रहँदासम्म कहिल्यै विचार राख्नुभएन । अहिले पनि प्रचण्डले त्यस्ता विचारको विरोध गर्नुहुन्न । बरु, प्रोत्साहन नै दिनुहुन्छ ।अब भने प्रचण्डले जातीयता तथा साम्प्रदायिकता सम्बन्धमा विगतमा जस्तै विचार दिने आकलन गरिएको छ । बाबुरामसँगको प्रचण्डको बढ्दो निकटाले पनि यही संकेत गर्छ । बाबुरामले कम्युनिष्ट विचार त्योगेको घोषणा गर्नुभएको छ तर प्रचण्डले त्यस्तो घोषणा गर्नुभएको भने छैन । दुवैको वैचारिक भावभूमि जातीयता र साम्प्रदायिकता हो ।
जानकारहरु भन्छन्– ‘अब पार्टीगत रुपमा पनि प्रचण्ड र बाबुरामहरु एक ठाउँ आउनुहुन्छ ।’यसको ठोस कारण छ ।गत चुनावमा बाबुरामले गोरखाबाट जित्ने अवस्था थिएन । प्रचण्डले बाबुरामलाई जिताउन भनेर कमजोर उम्मेदवार उठाइदिनुभयो । नारायणकाजी श्रेष्ठलाई बाबुराम विरुद्ध उम्मेदवार बनाउनु भनेको बाबुरामलाई सघाउनु नै थियो । उता, कांग्रेसले बाबुरामलाई समर्थन दियो । अब बाबुरामलाई गोरखाको चुनावमा त्यस्तो काकताली पर्ने अवस्था छैन ।
गोरखामा चुनाव जित्न पनि बाबुरामले प्रचण्डको शरण नपरी हुँदैन । जनता समाजवादी पार्टीमा बसेर जातीय साम्प्रदायिक मुद्दा अगाडि बढाउन सकिन्छ तर चुनाव भने जित्न सकिँदैन भन्ने बाबुरामले बुझ्नुभएको छ । त्यसैले प्रचण्डको पार्टीमा नपसी सुखै छैन बाबुरामलाई ।बाबुरामलाई भित्राउँदा प्रचण्डलाई पनि फाइदा छ । बाबुरामलाई आफ्नो समूहमा भित्राउँदा माधव नेपाल र झलनाथ खनालहहरुलाई साइजमा राख्न प्रचण्डलाई सजिलो हुनेछ । बाबुरामसँग फेसबुक र ट्वीटरमा फलोअर छन् तर कार्यकर्ता र मतदाता छैनन् । कमजोर बाबुरामलाई भित्राउँदा प्रचण्डलाई खतरा पनि हुने छैन ।
जानकारहरु भन्छन्– प्रचण्डले केही साना पार्टीहरुलाई आफ्नो समूहमा एकीकृत गराउने र कार्यकर्ताको मनोबल बढाउने प्रयास गरिरहनुभएको छ । मोहन वैद्य समूहबाट पनि उहाँले केही नेता कार्यकर्ता भित्राउँदै हुनुहुन्छ । यही मेसोमा बाबुरामलाई पनि भित्राउने काम हुनसक्छ ।अर्थात्, अब बाबुराम र प्रचण्डका विचार अजेण्डा केही पनि फरक छैन । त्यसैले अलिकति ढिलाे या चाँडाे उहाँहरु दुईजना सँगै बन्ने हुनुभयो । दुई नेता एकै पार्टीमा भएको देख्न पाइने दिन अब धेरै टाढा छैन ।