काठमाडौं, ९ पुस ।
बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बुधबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट
पछिल्ला दिन निरन्तर जसो उकालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिम दिन विहिबार भने दोहोरो अंकको गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से २९ अंकले ओरालो लागेर २ हजार २८ बिन्दुमा आई थामियो ।
यसदिन कारोबार भएका अधिकाशं समुहमा गिरावट आएसँगै नेप्से पनि ओरालो लागेको हो । यसदिन व्यापार र होटल समुहमा बाहेक अरु समुह ओरालो लागे । जीवन बिमा समुह सबैभन्दा उच्च ४ सय ३१ अंकले अोरालो लाग्दा नीर्जिवन बिमा समुह पनि १ सय ४२ अंकले ओर्लियो ।
यसदिन १ सय ३७ कम्पनीको शेयर मुल्य घट्दा जम्मा २८ कम्पनीको शेयर मुल्य बढ्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४ कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५ अर्ब ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।