काठमाडौं, ७ पुष ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले गरेको छ।
उनको ठाउँमा माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष पदमा चयन गरिएको छ।
दाहाल-नेपाल पक्षको मंगलबार दिउँसो बबरमहलमा केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाउने र नेपाललाई चयन गर्ने निर्णय बहुमतले पारित गरेको थियो।
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक : के के भयो निर्णय ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ। झलनाथ खनालले गरेको प्रस्तावलाई केन्द्रीय कमिटिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षमा नेपाल चयन भएको जानकारी दिए।
केपी ओलीले पार्टी एकता विरोधी काम गरेकाले उनलाई पदबाट हटाइएको श्रेष्ठले बताएका छन्।
‘केपी ओलीले पार्टी एकता विरुद्ध काम गरेकाले उहाँलाई पार्टीको अन्तिरिम विधान अनुसार अनुसानको कारवाही गरी जिम्मेवारी मुक्त गरिएको छ। रिक्त अध्यक्ष पदमा माधव नेपाललाई सर्वसम्मत चयन गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने।
यस्तै केन्द्रीय कमिटीको बैठकले पार्टीको आन्तरिक समस्या र त्यसको समाधानका बारेमा छलफल र निष्कर्षका लागि प्रस्तुत भएका प्रस्ताव अध्ययनका लागि केन्द्रिय सदस्यलाई वितरण गरेको छ। यसबारेमा पुष ९ गते सुरु हुने बैठकमा छलफल हुने श्रेष्ठले बताए।
बैठकले संसद विघटन असंवैधानिक कदम भएको निष्कर्ष निकालेको छ। बैठकले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको भन्दै संसदको अधिवेशन आह्वान गर्ने पनि निर्णय गरेको छ।
ओलीले गरेको कदम विरुद्ध संघर्ष गर्नेपनि बैठकले निर्णय भएको छ। यस्तै, पूर्व सभामुख कृष्णबहादुर महरालाई पनि केन्द्रिय सदस्य मनोनयन गर्ने निर्णय भएको छ।
अर्को बैठक पुष ९ गते साढे १ बजे बस्ने तय भएको छ।