प्रधानमन्त्रीलाई कारबाही र महरालाई स्थायी समिति सदस्य बनाउने नेकपाको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्र केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षिय स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कार्वाही गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको जानकारी दिए । उनले यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने बताए ।

उनले सबै पक्षलार्ई एकताबद्ध भएर उभिन आह्वान गरिएको जानकारी दिए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको भन्दै स्थायी कमिटी बैठक जारी रहेको र संसद अधिवेशन बोलाउनुपर्ने बेलामा दुई ठूला कम्युनिष्ट पार्टीको एकता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानमाथि नै कुकृत्य गरेको बताए ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ । यसका लागि पर्सि ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने उनले जानकारी दिए ।

त्यस्तै बैठकले पूर्वसभामुख समेत रहेका नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ ।