काठमाडौं, ५ पुष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा भित्र्याउँने तयारी गरेका छन्।
अोलीको संसद विघटनको निर्णयलाई घुमाउरो तरिकाले समर्थन गरेका नेता वामेदवलाई अोलीले चुनावी सरकारको गृहमन्त्री बनाउने तयारी गरेको स्रोतको भनाई छ।
आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधिसभा विघटन सिफारिस गरेका प्रधानमन्त्री ओलीको प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।
सो निर्णयमा नेता गौतमले आफूले प्रधानमन्त्री ओलीको समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताएका थिए। नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सँगै अोलीको विरोध गर्दै आएका गौतम पछि पछिल्ला गुट भेलामा भने सामेल थिएनन।
यसैबीच, संसद विघटन भए लगत्तै मन्त्रिपरिषद्मा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। अहिले उनीहरु छलफलमा रहेको नेकपाका एक नेताले बताए।
अहिले बालुवाटारमा नेकपाको स्थायी कमिटि बैठक बसिरहेको छ। सो बैठकपछि निर्णय हुने बताइएको छ।
मन्त्रिपरिषद्मा प्रचण्ड–नेपाल पक्षका घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, योगेश भट्टराई, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव मन्त्री छन्। प्रचण्ड पक्षबाट मन्त्री बनेता पनि रामबहादुर थापा बादल र लेखराज भट्टलाई अहिले ओली निकट मानिन्छ।