राप्तीलाई गौतमबुद्ध कप उपाधि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० मंसिर ।

रोमान्चक फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले गौतमबुद्ध कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ। चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।

राप्तीका लागि ओपनरद्वय अमित श्रेष्ठले १७ बलमा ४ चौकासहित १८ रन बनाउँदा कुशल भूर्तेलले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रनको योगदान दिए । शरद भेसावकर १० रनमा आउट भए भने भुवन कार्की ४ रनमै पभेलियन फर्के।

२५ बलको सामना गरेका सुमित महर्जनले १ चौका र १ छक्काको मद्दतले २२ रन बनाउँदा कप्तान विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्कासहित ३३ रनको योगदान दिए । लोकेश बम ७ तथा जितेन्द्र मुखिया १ रनमा आउट हुँदा कमलसिंह ऐरी १ रनमा अविजित रहे।

नारायणीका लागि साहब आलमले ३, सुशन भारीले २ र करण केसीले १ विकेट लिए।

१४४ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमा सीमित भयो । उसलाई जीतका लागि ९ रन पुगेन । नारायणीका लागि आरएफ सेखले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रन बनाउँदा इशान पाण्डे र रित गौतमले २७–२७ रनको योगदान दिए । त्यसपछिका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

राप्तिका लागि अविनाश बोहराले सर्वाधिक ३ तथा भुवन कार्कीले २ र जितेन्द्र मुखिया(कमलसिंह ऐरीले १–१ विकेट लिए।