जन्ति चढेको जीप दुर्घटना, एक भारतीयको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० मंसिर ।

महोत्तरीको मनरा सिस्वामा जन्तिबाट घर फर्कने क्रममा जीप दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाहीको बलरा नगरपालिका वडा नं. ९ छतैनाबाट मनरासिस्वा वडा नं. ६ स्थित बिष्णु सिंहको घर आएका जन्ति विवाह पश्चात घर फर्कने क्रममा जीप दुर्घटनामा भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा भारत जिल्ला सितामढी ग्राम पञ्चायत मुढा बस्ने महेन्द्र सिंहका छोरा अन्दाजी बर्ष ३५ को राजेश सिंहको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ५ बजे BR05S 2022नम्बरको भारतीय जीप बर्दिबास–जलेश्वर खण्डमा पर्ने मनरा सिस्वा सडकमा जीप अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा अन्य कोही घाइते नभएको र सवारी चालक फरार रहेको छ । फरार चालकलाई पक्राउ गर्न तीब्ररुपमा खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।